• शनिबार, साउन १६ २०८३

गृह प्रशासनलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता छ : गृहमन्त्री खाण


सोमबार, माघ २४ २०७८
1.5K
Shares

गृहमन्त्री बालकृष्ण खाणले गृह प्रशासनलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन्।

सोमबार गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना, २०७८ को सम्बन्धमा भएको छलफल कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले मुलुकमा शान्ति स्थापनाका लागि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका हुन्। 

द्रुत विकासको चाहनालाई पूरा गर्न मुलुकमा शान्ति आवश्यक रहेको भन्दै उनले गृह प्रशासन र सुरक्षामा प्रदान गरिने बजेटले मुलुकलाई शान्त र सम्मुन्नत बनाउन मद्दत गर्ने बताए।

संविधानले दिएको मौलिक अधिकारहरूलाई स्थापित गर्नका लागि पनि मुलुकमा शान्ति, सुरक्षाको आवश्यकता रहेको उनले उल्लेख गरे। 

गृहमन्त्री खाणले भने, ‘गृह प्रशासन र सुरक्षामा लगाइएको प्रदान गरिने बजेटले राष्ट्रलाई शान्त र सम्मुन्नत गराउन मद्दत गर्छ। सरसर्ती हेर्दाखेरी यसलाई विकास बजेटको रूपमा नहेरिएता पनि मुलुकको द्रुत विकासको चाहनालाई पूरा गर्नका लागि पनि मुलुकमा शान्ति आवश्यक छ र शान्ति स्थापना गर्नका लागि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लानुपर्ने पनि हाम्रो औचित्य र आवश्यकता छ।’ 

गृहमन्त्री खाणले अध्यागमन प्रयोग गर्नेको संख्या दिनप्रतिदिन बढिरहेकाले नेपाल आउने र नेपालबाट बाहिर जानेहरूको तथ्यांक र यथार्थ विवरण अध्यागमन प्रशासन र सुरक्षा निकायसँग हुनुपर्ने बताए।

अध्यागमनका गेटहरूलाई आधुनिकीकरण गर्नुपर्ने पनि उनले बताए। 

पछिल्लो समय भिजिट भिसामा विदेशिने र त्यहाँ गएर रोजगारीको शिलशिलामा नेपालीहरू भौंतारिएका विभिन्न घटनाहरू आइरहेको भन्दै यस सम्बन्धमा सम्बन्धित मन्त्रालयहरूले संयुक्त रूपमा गम्भीरतापूर्वक कदम चालिरहेको पनि उनले उल्लेख गरे। 

गृहमन्त्री खाणले बदलिँदो परिवेश अनुसार गृह प्रशासनको उत्तरदायित्व र कार्यशैलीमा गतिशीलता ल्याउनुपर्नेमा जोड दिए। कार्यशैलीलाई पनि तीव्र गतिमा आधुनिकीकरण गर्नुपर्ने उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार