• शनिबार, साउन १६ २०८३

कमल थापा पार्टी विभाजन गर्ने पक्षमा छैनन्: प्रधान


सोमबार, माघ २४ २०७८
565
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष ध्रुबबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दाबी गरेका छन्।

पूर्वअध्यक्ष थापाले सोमबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएको उपाध्यक्ष प्रधानले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनी पार्टी एकताकै पक्षमा रहेको बताएका हुन्।

उनले महाधिवेशनले दिएको जिम्मेवारीलाई बहन गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूहरू प्रतिबद्ध रहेको पनि बताए। त्यसका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको भूमिका सबभन्दा बढी हुने उपाध्यक्ष प्रधानको भनाइ थियो। 

उनले पार्टीलाई एकताबद्ध बनाएर लैजान आफू लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उपाध्यक्ष प्रधानले भने,‘उहाँले पार्टी फुटाउने सोच्नुभएको जस्तो मलाई लागेको छैन। महाधिवेशनले निर्वाचित गरेको हुनाले मेरो दायित्व पार्टीलाई एकताबद्ध बनाएर लैजाने हो। त्यो दायित्व निर्वाचित अध्यक्षको पनि हुन्छ। हामी पार्टी एकताको पक्षमा छौं। एकताबद्ध भएर लैजाने प्रतिबद्धता व्यक्त गर्दछु।’

पार्टीकी महामन्त्री कुन्ती शाहीले पनि पार्टी विभाजनको पक्षमा पूर्वअध्यक्ष थापा नरहेको बताइन्।

उनले पार्टी नेतृत्वले विगतमा पार्टीमा दुःख गरेका कुनै पनि नेता, कार्यकर्तालाई पार्टीभित्र समेटेर लैजानुपर्ने बताइन्। महामन्त्री शाहीले भनिन्, ‘पार्टीका पूर्वअध्यक्ष थापा पार्टीलाई पार्टी विभाजनको पक्षमा हुनुहुन्न। बरू उहाँले पार्टीलाई सशक्त बनाउन देशव्यापी अभियान चलाउने धारणा राख्नु भएको छ।

विगतमा पार्टीमा योगदान गरेका, दुःख गरेका सबै नेता, कार्यकर्तालाई समेटेर पार्टीमा विभाजन आउन नदिन पार्टी नेतृत्व बढी नै सचेत हुनुपर्छ।’महामन्त्री शाहीले पार्टीलाई सशक्त बनाउन सबै नेताहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार