
गण्डकी प्रदेशसभाले आफ्नो चौथो वार्षिकोत्सव भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । कोरोना महामारीका कारण प्रदेशसभा सचिवालयले वार्षिकोत्सवलाई भर्चुअल माध्यमबाट सम्पन्न गरेको हो ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गण्डकी प्रदेश नेपालको मध्यभागमा परेको र नेपालको राज्य एकीकरण पनि यहीँबाट सुरु भएको जनाउँदै यहाँ गरिने जुनसुकै निर्णयले समग्र राष्ट्रमा नै महत्वपूर्ण प्रभाव पार्ने बताए । विकासका निम्ति सधैं आकांक्षी हुनुपर्ने उल्लेख गर्दै उनले सङ्घीयताको मर्म र भावनाअनुसार अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।


केन्द्रमुखी प्रवृत्ति अझै पनि कायम रहेको जनाउँदै पूर्वप्रधानमन्त्री भट्टराईले प्राप्त अधिकारलाई कार्यान्वयन गरी प्रयोग गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले देशमा तीन तहका सरकार गठनले राज्यले जनतासम्म पुग्ने आधार फराकिलो बनाएको बताए । केन्द्रमा मात्र निर्भर हुने अवस्था कम हुँदै गएपछि नागरिकका चाहना पनि बढेको र सरकारप्रतिको आशा तथा भरोसा बढेको उनले बताए ।
चारवर्षे अवधि महत्वपूर्ण भए पनि अझ धेरै काम गर्न बाँकी रहेको र परिवर्तनका उपलब्धिलाई संस्थागत गर्न सबै दलहरू दलीय स्वार्थबाट माथि उठ्नुपर्नेमा जोड दिए ।प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले प्रदेशलाई सबै किसिमबाट पहिलो प्रदेशका रुपमा स्थापित गर्नुपर्ने बताए । प्रदेशसभा गठनको यस अवधिमा महत्वपूर्ण उपलब्धि हासिल भएको जनाउँदै उनले यसको कार्यान्वयनका लागि लाग्नुपर्ने आवश्यकता औँल्याए ।


मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले देश सङ्घीय पद्धतिमा गइसकेपछिका चार वर्षमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।
गण्डकी प्रदेशमा समझदारीपूर्ण तवरबाट नामाकरण, राजधानी जस्ता विषय टुङ्गिएको जनाउँदै उनले पारित ऐन कानुनलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । प्रदेशमा सत्तापक्ष र प्रतिपक्षबीच समन्वय तथा समझदारीका साथ अघि बढिएको उनले बताए । प्रदेशसभाको बाँकी एक वर्षमा पनि महत्वपूर्ण विधेयक पारित हुने उनले जनाए ।
संविधानसभा सदस्य विनोद चौधरीले प्रदेशसभा गठनका यस अवधिमा धेरै महत्वपूर्ण उपलब्धि हासिल भएको धारणा राखे । संविधानसभा सदस्य एवं प्रतिनिधिसभा सदस्य देव गुरुङले सङ्घीयताको मर्मअनुसार जनतालाई अधिकतम सेवा सुविधा दिने गरी लाग्नुपर्नेमा जोड दिए ।
