
लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन्।
बुधबार बसेको नगर समितिको पहिलो बैठकले उहाँसहित सात सदस्यीय पदाधिकारी चुयन गरेको हो।
गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताए।


‘पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा पाइला चालेको छु’, उनले भने, ‘कुनै पार्टीमा विचार/आस्था जोडिइसकेपछि नेतृत्व मै रहेर काम गर्नु उचित ठानेँ।’
राजनीति र कलाकर्मलाई एकसाथ अघि बढाउने उनले बताए। आफूलाई चिनाउने लोकसङ्गीत क्षेत्रको टेवा र उत्थानमा सधैँ क्रियाशील भएर लाग्ने उनले बताए।
गलकोट–७ मल्ममा जन्मनुभएका उनले यसअघि माओवादी केन्द्रको नगर समिति सदस्य रहेर काम गरेका थिए।
उनी वि.सं. २०७४ को स्थानीय तहका निर्वाचनमा सोही पार्टीको तर्फबाट गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारका रुपमा सिफारिससमेत भएका थिए।


लोकसङ्गीत क्षेत्रमा रुचाइनुभएका गायक-सर्जक खत्रीले सयौँ गीतमा स्वर दिएका छन्।
शब्द रचना र भाका निर्माणमा पनि उनी उत्तिकै पोख्त छन्। उनले गीतकामार्फत विकृति, विसङ्गती, गरिबी, उत्पीडन, अभाव र छुवाछुत जस्ता सामाजिक मुद्दालाई उठान गर्दै आएका छन्।
उनका ‘भरिया दाइ’, ‘अन्तरजातीय विवाह’, ‘कि लास चाहियो, कि सास चाहियो’ र ‘जम्मु कश्मिरमा’ लगायत गीत चर्चित छन् ।
माओवादी केन्द्रले नगर समितिका अध्यक्षतामा तिलक उप्रेती, उपाध्यक्षमा खत्रीसहित गङ्गा भुजेल, ललित श्रीस, सचिवमा चन्द्रदत्त रेग्मी, सहसचिवमा भीम विश्वकर्मा र कोषाध्यक्षमा कौशिला घर्तीमगरलाई चयन गरेको छ।

