• शनिबार, साउन १६ २०८३

समाजवादी लक्ष्य हासिल गर्न सचेततापूर्वक खबरदारी आवश्यक : अध्यक्ष प्रचण्ड


बुधबार, माघ १९ २०७८
1.1K
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानले सुनिश्चित गरेको समावेशीता र समानुपातिक अवधारणालाई मजबुत गरी समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न सचेततापूर्वक खबरदारी आवश्यक रहेको बताएका छन् ।

तामाङ समुदायको पर्व सोनाम ल्होछारका अवसरमा बुधबार बिहान शुभकामना सन्देश जारी गरी अध्यक्ष प्रचण्डले संविधानले सुनिश्चित गरेको समावेशीता र समानुपातिकतालाई मजबुत गरी समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न पनि समुदायको सचेततापूर्वक खबरदारी आवश्यक रहेको बताएका हुन्। 

‘स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि राष्ट्रियता र देशभक्ति भावना जागृत गर्न सबै नेपालीमा आह्वान सुस्वास्थ्य र दीर्घायुको शुभेच्छासहित सोनाम ल्होछारको पुनः एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु’, प्रचण्डले भनेका छन्। 

कूल पूजा र प्रकृति पूजा गर्दै मनाइने यस पर्वलाई तामाङ समुदायले विशेष उत्सवका रुपमा मनाउने गरेका छन्। सरल र मिलनसार यो समुदाय समूहगत रूपमा शुभकामना आदानप्रदान गर्दै मीठोमसिनो खाने र रमाइलो गर्ने गर्छन्। 

‘विभिन्न समुदायका यस प्रकारका सांस्कृतिक पर्वहरूले नेपालीहरूबीच आपसी हार्दिकता र सामाजिक सहिष्णुताको विकास भई राष्ट्रिय अखण्डता र ऐक्यबद्धतामा सघाउ पुर्याउँदछ’, प्रचण्डले भनेका छन्। 

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा प्रचण्डले सोनाम ल्होछारको शुभकामना व्यक्त गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार