• शनिबार, साउन १६ २०८३

नयाँ पार्टी खोल्दै वामदेव गौतम


मंगलबार, माघ १८ २०७८
825
Shares

नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नयाँ पार्टी खोल्ने तयारीमा छन्।एमालेका पूर्वउपाध्यक्ष गौतमले यही माघभित्रै एउटा नयाँ पार्टी खोल्ने जानकारी गराएका हुन्। 

राष्ट्रिय ​सभाका सदस्यसमेत रहेका गौतम नयाँ पार्टी दर्ताका लागि केही दिनभित्रै निर्वाचन आयोग जाने तयारी रहेको बताइएकाे छ। पार्टीको नाम भने अहिले सार्वजनिक भइसकेको छैन।  

नेकपा एमाले विभाजन गरी माधवकुमार नेपालले एकीकृत समाजवादी गठन गरेयता एमालेबाट राजीनामा दिएर बसेका गौतम हाल दलविहीन छन्।

२०७४ सालको संसदीय चुनावमा बर्दिया–१ मा पराजित गौतमलाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मा गरेको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्य पदमा मनोनयन गरेकी हुन्। गौतम ६ वर्षका लागि राष्ट्रिय सभाको सांसद बनेका हुन्।

एमाले र माओवादी केन्द्र एकता गरी बनाइएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा सचिवालय सदस्य रहेका गाैतम सर्वाेच्च अदालतको फैसलाले दुई पार्टी अलग भएपछि एमालेका उपाध्यक्ष बनेका थिए। तर एमाले पनि फुटेपछि उनी कतै नलागी बसेका हुन्।

गौतमले यसअघि २०५४ मा पनि एमालेबाट अलग भई नेकपा माले गठन गरेका थिए, तर ४ वर्षपछि २०५८ मा पुनः एमालेमै मिसिएका थिए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार