
सत्तारूढ गठबन्धनका तीन शीर्ष नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बालुवाटारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदमा प्रस्तुत गर्ने चर्चाबारे छलफल भएको हो।



छलफलमा सरकार प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी थिए।बालुवाटार स्रोतका अनुसार तीन नेताहरूबीच स्थानीय तहको चुनाव र एमसिसीबारे छलफल भएको थियो।
पाँच दलीय सत्ता गठबन्धनबीच संसदको अर्को बैठकमा एमसिसी टेबल गर्न सहमति भएको छ। एमसिसी संसदबाट पारित गर्ने कि नगर्ने भन्ने विषयमा लामो समयदेखि प्रमुख राजनीतिक दलहरूबीच सहमति हुन सकेको थिएन।

यसबारे छलफल गर्न गठित तीन सदस्यीय कार्यदलले शनिबार गठबन्धन दलका शीर्षनेताहरूलाई ब्रिफिङ गरेको थियो। उक्त ब्रिफिङपछि नै एमसिसी टेबल गर्नेबारे सहमति भएको सूचना तथा सञ्चारमन्त्री र कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
एमसिसीबारे कार्यदलको छलफल सकारात्मक कोणमा अघि बढेको र त्यसैअनुसार गठबन्धन दलका शीर्ष नेताहरूलाई ब्रिफिङ गरेको उनले जानकारी दिए। ब्रिफिङ गरिसकेपछि एक हिसाबले भन्दा हामी तीन जनाको कार्यदलले आफ्नो काम पूरा गरिसकेको छ। शीर्ष नेताहरूले हाम्रो ब्रिफिङलाई सकारात्मक रूपमा ग्रहण गरेको बताएका छन ।

