
गोरखा । राष्ट्रिय सभाका लागि भएकाे निर्वाचन अन्तरगत गण्डकी प्रदेशमा मतदान सकिएकाे छ । २ सय २९ मतदातामा रहेकाे गण्डकीमा २ सय २७ मत खसेकाे छ ।

जसमा राप्रपाबाट निर्वाचित भएका बागलुङका उपमेयर सुरेन्द्र खड्का र मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले मतदान गरेनन् । राप्रपाका उपमेयर खड्काले पार्टीकाे निर्देशन अनुसार भाेट नहालेकाे र विष्ट हाल अमेरिकामा रहेकाले मतदाताभन्दा दुई मत कम खसेकाे बताइएकाे छ । विष्ट स्वतन्त्र चुनाव जितेर एमाले प्रवेश गरेका थिए ।


गण्डकीमा सत्ता गठबन्धन निकै बलियो छ । गठबन्धनको तीन हजार ३०० मतभार छ भने एक्लै लडेको एमालेको दुई हजार ५५६ मतभार छ ।
राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकीमा तीन पदका लागि ६ जना उम्मेद्वार छन् । कांग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धनबाट महिला कोटामा कांग्रेस नेतृ कमला पन्त, खुलामा माओवादीका सुरेश आले मगर र दलितमा माओवादीकै भुवन सुनार उम्मेद्वार छन् । एमालेबाट भने महिलामा लिला थनेत, खुलामा पुण्य पौडेल र दलितमा अर्जुनकुमार सुनामले उम्मेद्वारी दिएका छन् ।


गत २० फागुनबाट गण्डकीमा दिनानाथ शर्मा, खिमबहादुर विक र शान्तिकुमारी अधिकारीको पद रिक्त हुन लागेको हो । केहिबेर अघि मतदान सकिएकाे गण्डकीमा भरखरै मतगणना समेत सुरु भएकाे निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो ।

