
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी माघ २७ गतेदेखि सुरु हुने गरी केन्द्रीय समिति बैठक बोलाएका छन्।
शुक्रबार सातै प्रदेश कमिटीलाई एक परिपत्र गर्दै उनले माघ २७ देखि काठमाडौंमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएका हुन्।
प्रचण्डले कोरोना संक्रमणको स्थितिलाई ध्यान दिई केन्द्रीय समितिको बैठक माघ २७ गते बाट सुरु हुने बताएका छन्।


उक्त बैठकले केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो एवं स्थायी समिति गठन र बाँकी पदाधिकारीहरुको निर्वाचन गर्ने पनि उनले जानकारी दिएका छन्।
माओवादीको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले पनि केन्द्रीय समिति बैठक बोलाइएको बताएका छन्। तर कोरोनाका कारण भौतिक रुपमा सम्भव नभए भर्चुअल डाकेर भए पनि केही निर्णय गरिने उनले जानकारी दिए।
‘कोरोनाले के गर्छ? हेरौँ। नभए भचुअलबाटै भए पनि पदाधिकारी, स्थायी समिति, पोलिटव्बुरो र विभिन्न विभागलाई पूर्णता दिने योजना छ’, उनले भने, ‘अझै केही साता बाँकी छ। त्यसबेलासम्म कोरोना पनि घट्न सक्ने विश्वास लिएका छौँ।’


माओवादीले यसअघि मंसिर ११ देखि १५ सम्म भएको आठौँ राष्ट्रिय महाधिवेशनको निर्देशन बमोजिम केन्द्रीय समितिलाई पूर्णता दिन, पोलिटब्युरो, स्थायी समिति गठन र पदाधिकारीको निर्वाचन गर्न पुस ५ र माघ ८ गते दुई पटक केन्द्रीय कमिटी डाकेको थियो।
तर अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसहितलाई कोरोना संक्रमण भएपछि माघ ८ को बैठक सरेको थियो। पुस २५ को बैठक भने नेता वर्षमान पुन चीनबाट आइपुग्न नसक्ने अवस्था देखिएपछि सरारिएको थियो।

