• शनिबार, साउन १६ २०८३

पशुपति धर्मशाला आलिसान होटलजस्तो बनाइएको रहेछ : मन्त्री आले


आइतबार, माघ २ २०७८
1.4K
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको निरीक्षण गरेका छन्। यो धर्मशाला बतास अर्गनाइजेशनले भाडामा लिएर सञ्चालन गरेको छ। ‘धर्मशाला त सेभेन स्टार होटलकै सेरोफेरोजस्तो छ, म चकित परेँ,’ आज धर्मशाला निरीक्षण गरेपछि मन्त्री आलेले पत्रकारहरूसँग भने। उक्त धर्मशाला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेका थिए।

भक्तजनलाई बसोबासका लागि सजिलो होस् भनेर भारतीय सरकारले भारू २५ करोड खर्चेर धर्मशाला बनाएको थियो। ‘यो धर्मशाला त यसो हेर्दा आलिसान होटलजस्तो छ। एकै रूमको ११ हजारसम्म शुल्क लाग्ने गरी दिइएको रहेछ,’ उनले भने, ‘धर्मशालाजस्तो रूप नभएर यो आधुनिक, सेभेन स्टार होटलजस्तो छ।’ उनले पशुपति क्षेत्र विकास कोषका सम्पत्तिमाथि कहाँ के भइरहेको छ भन्नेबारे छानबिन समितिले काम गरिरहेको बताए। कोषका कोषाध्यक्ष नारायण सुवेदी संयोजक रहेको समितिले आवश्यक छानबिन गरेको छ।

सुवेदीका अनुसार सोमबार अपरान्ह ४ बजे क्षेत्र विकास कोषको कार्यालयमा छानबिन प्रतिवेदन मन्त्री आलेलाई बुझाउने कार्यक्रम छ। उक्त प्रतिवेदन हात परेपछि कहाँ के भइरहेको छ भन्नेबारे छर्लङ्ग हुने मन्त्री आलेले बताए। ‘पशुपति क्षेत्र विकास कोषबाट निर्णय नगरी केही काम गरेको देखियो। यस्तो गरिनु अवैधानिक हुन्छ,’ उनले भने, ‘भोलि प्रतिवेदन आएपछि आवश्यक निर्णय लिन्छौं।’ उनले दोषी देखिने कर्मचारीदेखि सबैलाई कारबाही गरिने पनि बताए । आफूले कसैमाथि राजनीतिक प्रतिशोध नराखेको उनको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार