• शनिबार, साउन १६ २०८३

गृहमन्त्रीलाई कांग्रेस गोरखाकाे ज्ञापन पत्र: ‘उत्तरी क्षेत्रमा उद्धार उडान सहज बनाइयाेस्’


आइतबार, माघ २ २०७८
620
Shares

गोरखा । सडक सञ्जालले नजाेडिएकाे गोरखाकाे उत्तरी क्षेत्रका बिरामीकाे हेलिकप्टर उद्वार उडान सहज बनाईदिन नेपाली कांग्रेस गोरखाले माग गरेकाे छ । आइतबार गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाउदै नेपाली कांग्रेस गोरखाका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले हेलिकप्टर उद्वार उडान सहज बनाउने ब्यवस्था मिलाईदिन माग गरेका हुन् ।

हिमालपारीकाे पालिका भनेर चिनिने चुमनुब्रीका पूरै वडा र धार्चेका समेत कतिपय स्थान हालसम्मपनि सडक सञ्जालले नजाेडिएकाे र त्याहाकाे विकल्प हेलिकप्टर बाहेक नरहेकाले बिरामी पर्दा सहज उडानकाे वातावरण मिलाइदिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएकाे सभापति न्याैपानेले बताए ।

‘यस गाउँपालिकाहरुमा सडक सञ्जाल नजाेडिएकाे हुनाले त्यस भेगका जनताले यातायातका असुविधाका कारण समयमा उपचार नपाई सयाै मानिसहरुकाे अकालमा ज्यान गुमाउनुपरिरहेकाे छ’ कांग्रेसले बुझाएकाे ज्ञापनपत्रमा लेखिएकाे छ ‘ स्टेचरमा बिरामी हिड्न पनि बाटाे राम्राे छैनन, यहाँ हेलिकप्टर बाहेक अरु विकल्प नरहेकाे र हेलिकप्टर उडानकाे प्रकृयापनि झण्झटिलाे र लामाे हुने हुदा समयमै उपचार नपाएर ज्यान गुमाउनुपरिरहेकाे अवस्था छ ।’

ज्ञापन पत्र बुझाउदै काँग्रेस सभापति न्याैपानेले त्यस क्षेत्रका जनताकाे सहजताका लागि आपतकालिन अवस्थामा संम्बन्धित गाउँपालिका अध्यक्ष वा वडाअध्यक्षको लिखित अथवा मौखिक अनुरोधमा प्रमुख जिल्ला अधिकारीले हेलिकप्टर उद्वारका लागि झिकाउने ब्यवस्था हुनुपर्ने बताएका छन् ।

अहिले उत्तरी गोरखाबाट घाईते वा बिरामीको उद्वार उडान प्रक्रिया निकै झन्झटिलो छ । कागजातको प्रक्रिया पुरा गर्दागर्दै उद्वार गर्न दुई दिनसम्म लाग्ने र ज्यानै समेत जाने गरेको गुनासो स्थानीयले गर्दै आएकाले प्रकृयालाई सहज बनाइदिन पहल गरिएकाे सभापति न्याैपानले बताए ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखाको कात्तिक ७ गतेकाे बैठकले उत्तरी गोरखाको उद्वार उडान सहज बनाउन सरकारसँग माग गर्ने र ध्यानाकर्षण गराउने निर्णय बमाेजिम गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएकाे उनले बताए ।

गृहमन्त्रीको ध्यानाकर्षण गराउन कांग्रेस जिल्ला सभापति न्यौपाने, केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, आरुघाट गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहाल, नेपाली कांग्रेस चुमनुब्री गाउँपार्टी सभापति सुर्य गुरुङ, वडा अध्यक्ष बिरबहादुर लामा, लाक्पा रितार, खिमे लामा, नबिन गुरुङ लगायतको टोली गृहमन्त्रीको ध्यानकर्षण गराउन पुगेका थिए ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाँणले उद्वारका लागि हेलिकप्टर सहज बनाउन सहजिकरण गर्ने आश्वासन दिएका छन् । केहिसमय अघि गृहमन्त्री खाँड समेत हेलिकप्टर मार्फत चुमनुब्रीकाे छेकम्पार पुगेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार