
सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले आफूहरुबिना नेपाल चल्नै नचल्ने बताएका छन्। पूर्व सभामुखसमेत रहेका महराले बिहीबार दाङस्थित तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ को पार्टीको कार्यालय उद्घाटन गर्दै यसो भनेका हुन्।
महराले अझै पनि माओवादीलाई सिद्याउने अभियानमा विभिन्न शक्तिहरु क्रियाशील रहेको पनि बताएका छन्। ‘अहिले पनि माओवादी सिद्याउने शक्ति क्रियाशील छन्। माओवादीलाई माथि उठ्न नदिने गरी लागेका छन्’, उनले भने, ‘माओवादीको बलमा आएको राजनीतिक परिवर्तन अब कहिले उल्टिँदैन। अब हामीले पछाडि फर्किनुपर्दैन। माओवादीबिना यो देश चल्न पनि सम्भव छैन।’

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि माओवादीबिना देशमा परिवर्तन सम्भव नहुने बताएको उनले स्मरण गरे। महराले माओवादी नेपालकै महत्त्वपूर्ण शक्ति भएको बताउँदै श्रमिक जनताको पार्टी यही रहेको उल्लेख गर।
माओवादी श्रमजीवी जनताको पार्टी भएको जिकिरसहित उनले सिद्धान्तबाट विचलित नभएको पनि बताएका छन्। ‘हामी हाम्रो सिद्धान्तमा अडिग छौँ। हामीले श्रमजीवी जनताको एजेण्डा छाडेका छैनौँ’, उनले भने, ‘श्रमजीवी वर्गको मुक्तिको अरु कम्युनिष्ट पार्टीले कुरा मात्रै गरे। तर हामी काम गर्छौँ।’

