
नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्य प्रसाद (पारस) गैरे निर्वाचित भएका छन । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा गैरेले ४४० मत पाएर विजयी भएका छन । उनका प्रतिस्पर्धी नारायण मरासीनीले २५७ मत पाएका थिए ।
अध्यक्षमा विजयी भएका नेता गैरेलाई नेकपा एमालेकी केन्द्रीय सचिब पद्यमा अर्यालको समर्थन रहेको थियो । त्यसैगरी पराजित भएका नेता मरासीनीलाई भने संगठन विभाग प्रमुख खगराज अधिकारीको समर्थन रहेको थियो ।

सचिब अर्याल र संगठन विभाग प्रमुख खगराज अधिकारीको ब्याक्तिगत स्वार्थका कारण स्याङजामा सर्वसम्मत रुपमा नेतृत्व चयन हुन सकेको थिएन । दुई नेताको स्वार्थ नमिल्दा चार दिनसम्म लम्बिएको अधिवेशनमा सचिब अर्याल समर्थक गैरै भारी मतान्तरले निर्वाचित भएका छन् ।
नेकपा माओवादीको भुमिगतकाल हुदै राजनीतिमा स्थापित भएका गैरे दुई पार्टी बीचको पार्टी एकताका बेला स्याङजा जिल्लामा नेकपाका तर्फबाट अध्यक्ष बनेका थिए । पछि एमाले र माओवादी केन्द्र अलग हुदा समेत नेता गैरे एमाले पार्टीमै बसेका थिए । एमालेमा पनि उनी राम बहादुर थापा ‘बादल’ निकट नेताका रुपमा चिनिन्छन् ।

त्यस्तै पराजित मरासिनी स्याङजाबाट निर्वाचित संघिय सांसद समेत हुन । उनी २०६८ मा भएको निर्वाचनमा भने पराजित भएका थिए । उपाध्यक्षमा कृष्ण खाँड, सचिवमा राजेन्द्र डुम्रे निर्वाचित भएका छन । त्यसैगरी उपसचिवमा विश्व पौडेल र तारा शर्मा निर्वाचित भएका छन् ।
