गोरखा । नेपाल मुस्लिम संघ जिल्ला कार्य समिती गोरखाले नेपाली कांग्रेसका ३ केन्द्रिय सदस्यसहित प्रदेश महामन्त्री र जिल्ला सभापतिलाई सम्मान गरेकाे छ । गोरखाबाट प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्यमा निर्वाचित सुरेन्द्र पाण्डे, चिनकाजी श्रेष्ठ र अब्दुल सत्तारलाई संघले शनिबार एक कार्यक्रमका वीच सम्मान गरेकाे हाे ।
त्यस्तै काँग्रेसकाे गण्डकी प्रदेश समितीकाे महामन्त्रीमा निर्वाचित गोरखाकै किरण बाबु श्रेष्ठ, जिल्ला सभापति नन्दप्रसाद न्याैपाने र गोरखा नगरपालिकाका नगरसभापति चन्दनबाबु खत्रीलाई समेत संघले सम्मान गरेकाे छ ।
काँग्रेसकाे भातृसंगठनका रुपमा रहेकाे नेपाल मुस्लिम संघका जिल्ला अध्यक्ष अलिउल्ला मियाँकाे अध्यक्षतामा भएकाे बधाई ज्ञापन तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले मुस्लिम समुदायकाे हक हित र अधिकारकाे रक्षामा काँग्रेस प्रतिवद्ध रहेकाे बताएका छन् । भरखरै सम्पन्न महाधिवेशनबाट केन्द्रिय समितीमा आरक्षण काेटा मार्फत मुस्लिम समुदायकाे उपस्थिती बढेकाे बताउदै उनले याे प्रणाली वडा तहसम्मै सुनिश्चित गराउन पहल गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा अर्का केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठले राज्यका हरेक तह र तप्कामा मुस्लिम समुदायकाे सहभागितालाई सुनिश्चित गराउनुपर्नेमा जाेड दिएका छन् ।
कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष समेत रहेका काँग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तारले काँग्रेसकाे केन्द्रिय समितीमा सहमहामन्त्रीसहित ५ जनाले स्थान पाउनु सुखद रहेकाे तर्क गरे ।
मुस्लिम संघकाे बर्षाैदेखिकाे मागलाई काँग्रेसले विधान नै संशाेधन गरेर सम्बाेधन गरेकाे बताउदै सत्तारले आगामी महाधिवेशनमा त्यसकाे दायरा बढाएर वडा तहसम्म पुर्याउनुपर्नेमा जाेड दिएका छन् । आफु पार्टीकाे केन्द्रिय सदस्यमा निर्वाचित भएकाले मुस्लिम संघकाे केन्द्रिय अध्यक्षमा अरुलाई अवसर दिने भन्दै उनले अध्यक्षबाट राजिनामा दिने समेत घाेषणा गरेका छन् ।
कार्यकममा काँग्रेस गोरखाका सभापति नन्दप्रसाद न्याैपानेले मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने नेतालाई पार्टी र आगामी बिभिन्न तहका निर्वाचनमा अवसरबाट बञ्चित नगराइने प्रतिवद्धता ब्यक्त गरेका छन् । उनले मुस्लिम समुदायकाे हित कांग्रेसले मात्रै गर्ने दावी समेत गरे ।
कार्यक्रममा मुस्लिम संघका केन्द्रिय सचिव रहमतुल्ला मियाँले मुस्लिम समुदायसंग जाेडिएका कबरस्तान, इदगाह, करबला, मस्जिद तथा मदरसाहरुकाे संरक्षणमा कानूनी र नीतिगत समस्या हुदै आएकाे र समाधानका लागि पहल गरिदिन माग गरेकाे जिल्ला सचिव जमिल मियाँले जानकारी दिए ।