गोरखा । नेपाल कम्युनिष्ट पार्टीले नेपाली जनताले दिएको जनमत माथी अपराध गरेको नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले आरोप लगाएका छन् । नेपाली काँग्रेस गोरखाको आयोजनामा सदरमुकाममा सुरु भएको दुई दिने जिल्ला स्तरिय नेतृत्व विकास प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बाधेन गर्दै उनले यस्तो बताएको हुन ।
काँग्रेसलाई सिध्याउन रातारात एमाले र माओवादी एकता गरेर निर्वाचनमा गएको र त्यस प्रकृयामा जनताले दिएको जनमतलाई पछि लत्याएर नेकपाले राष्ट्र र जनतामाथी गद्दारी गरेको उनकाे आरोप छ ।
‘नेपाली जनताले दिएको जनमतमाथी नेकपाले गद्दारी ग¥यो, काँग्रेसलाई देखाइदिने भन्दै भएको एकतामा नेताका स्वार्थ मिलेन’ थापाले भने ‘जनतामाथी भएको यो अपराध हो, यसको हिसाब अबको चुनावमा जनताले नै गर्नेछन् ।’
नेकपाभित्रको विवाद र फुटका कारण देश २० बर्ष पछाडी फर्केको महामन्त्री थापाको भनाई छ । देशलाई उचाईमा कसरी पु¥याउने भनेर सोच्नुपर्नेमा देश झनै ओरालो गती तर्फ धकेलिएको उनको तर्क छ । संसद चल्न नदिएर एमालेले रमिता देखाएको र साँसदलाई पङ्गु बनाएको भन्दै थापाले काँग्रेस फेरी एक पल्ट जाग्ने बेला आएको बताएका छन् ।
‘देशको राजनीतिलाई हेर्दा ५७, ५८ सालतिरको जस्तै लाग्छ, संसद चल्न रोकेर केपी ओली गाउँ डुलेर हिड्नु भएको छ’ महामन्त्री थापाले भने ‘सँसदलाई पङ्गु बनाएर देश चल्दैन अब काँग्रेसले यसको भण्डाफोर गर्छ ।’
पछिल्लो समय न्यायालय क्षेत्रलाई समेत ध्वस्त बनाएकोप्रति आक्रोश पोख्दै काँग्रेस महामन्त्री थापाले अब काँग्रेसले निर्मम निर्णय गरेर समस्यामा समधान तर्फ जानुको विकल्प नरहेको बिचार ब्यक्त गरे । प्रधानन्यायधिशले समस्या हल गर्न नसके पदबाट तत्काल राजिनामा दिन समेत उनले सुझाए ।
यसअघिको निर्वाचनमा जस्तो काँग्रेसले अब अरु पार्टीको चुनाव चिन्हमा भोट हाल्ने दिन सकिएको बताउदै उनले अब निर्बाचनको तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरे । थापाले २०७४ मा कांग्रेसले समर्थन गरेर निर्वाचित भएका डा बाबुराम भट्टराईको प्रसंग उठाउँदै भने, ‘कांग्रेसकै सहयोगमा चुनाव जितेर जानेले उल्टै कांग्रेसलाई संग्रहालयमा लगेर राख्नुपर्छ भनेर भने । अब कांग्रेसको उम्मेदवार कांग्रेस नै हुन्छ । त्यसको लागि जित्ने गरी अहिले नै तयारी गर्नुस् ।’
गोरखा २ मा कांग्रेसको उम्मेदवार अरु पार्टीको प्रतिनिधि नहुने र कांग्रेसी नै उम्मेदवार बन्ने थापाको भनाइ छ । शुक्रबार बिहान गोरखा आइपुगेका महामन्त्री थापा आज गोरखामै बस्ने कार्यक्रम रहेको काँग्रेसले जनाएको छ ।
नेपाली काँग्रेस गोरखाका जिल्ला सभापति नन्द प्रसाद न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ, अब्दु सत्तार, पूर्व केन्द्रिय सदस्य कमला पन्त, प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठ, उपसभापति धिरन थापा लगायतले बोलेका थिए ।
कार्यक्रममा काँग्रेस जिल्ला कार्यसमितीले महामन्त्री थापासहित केन्द्रिय सदस्यहरु तथा प्रदेश कमिटीमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान समेत गरेको थियो ।
आज सुरु भएको प्रशिक्षण कार्यक्रम भोलीसम्म चल्ने जिल्ला सचिव किशोरजंग थापाले बताए । प्रशिक्षण कार्यक्रममा सहमहामन्त्री बद्री पाण्डे, केन्द्रिय सदस्य मिन बिश्वकर्मा, पुरुशोत्तम दाहाल लगायतको प्रस्तुतीकरण रहेको थापाको भनाई छ । कार्यक्रममा ११ वटै स्थानीय तहबाट करिब ३ सय प्रतिनिधी सहभागी रहेकाे काँग्रेस गोरखाले जनाएकाे छ ।