
गृहमन्त्री बालकृष्ण खाणले निजामती कर्मचारीहरूका युनियन सबैको साझा हुनु पर्ने बताएका छन् । नेपाल निजामति कर्मचारी युनियन, गृह मन्त्रालयको ८ औँ विभागीय अधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री खाणले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले युनियनले सरकारले सेवा सुविधा नदिँदा, सरकार जनताप्रति उत्तरदायी नहुँदा र राम्रो काम हुन नसक्दा सरकारलाई दबाब दिनुपर्ने बताए । ‘निजामति कर्मचारी युनियन सबैको साझा हुनुपर्छ ।
युनियनले सरकारले सेवा सुविधा नदिँदा, सरकार जनताप्रति उत्तरदायी नहुँदा र राम्रो काम हुन नसक्दा सरकारलाई दबाब दिनुपर्छ,’ मन्त्री खाणले भने । गृहमन्त्री खाणले अन्य मन्त्रालयमा जस्तो गृह मन्त्रालयमा तोकिएको समयावधि नहुने बताए ।

उनले गृह मन्त्रालयले संविधानमा लेखिएका, सरकारले बनाएका र मन्त्रालय आफैले बनाएका ऐन, नियम र कानुन कार्यान्वयन गर्ने र कतिपय अवस्थामा कतै नलेखेका विषयमा पनि काम गर्नुपर्ने भएकाले तोकिएको समयमा मात्रै काम गर्छु भनेर नपुग्ने बताए ।
तोकिएको समयभन्दा बढी काम गर्नुपर्ने भएकाले थप समयमा काम गरेमार्फत कम्तिमा खाजा खर्च थप गर्ने विषयमा आफूले अर्थ मन्त्रालयमा कुराकानी गरिरहेको पनि गृहमन्त्री खाणले बताए । ‘थप समयमा काम गरेवापत कम्तिमा पनि भत्ता उपलब्ध गराउनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसका लागि अर्थ मन्त्रालयमा हामीले पहल गरिरहेका छौँ ।
अर्थ मन्त्रालयबाट सकारात्मक जवाफ आएको छ । तर, निर्णय भइसकेको छैन,’ मन्त्री खाणले भने । गृह मन्त्रालय मातहतका कर्मचारीले सहज र प्रतिकूल दुवै अवस्थामा काम गर्नु पर्ने भएकाले यो काम गर्छु, यो गर्दिन भन्ने छुट नभएको बताए ।

उनले जिल्लाको प्रमुख रहने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले एकैपटक बिदा लिएर जिल्ला बाहिर नजान मन्त्रालयले सर्कुलर जारी गरिसकेको बताए ।सिराहामा भएको घटनाको उदाहरण दिँदै घटना घट्दा प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख जिल्लामा नभएको अवस्थाले गर्दा थेग्न नसक्ने भएपछि परिवर्तन गर्नुपरेको बताए ।
युनियनको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष रामकुमार लम्सालले जानकारी दिए । कार्यक्रममा युनियनमा आबद्ध रहेर काम गरेका सेवा निवृत्त कर्मचारीलाई सम्मान गरिएको थियो ।
