
गोरखा । एकिकरण मार्ग खोज्दै नेपाली सेनाले गोरखाबाट काठमाण्डौसम्म पदयात्रा सुरु गरेकाे छ । ३ सय औं पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखा दरबारकाे हनुमान चाैतारादेखि काठमाण्डौको हनुमाढोका दरबारसम्म पदयात्रा सुरु गरेकाे हाे।

मध्येकमाण्ड हे.क्वा. का कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको पदयात्रा शुभारम्भ कार्यक्रममा पृथ्वी नारायण शाहको पालामा स्थापना भएका गणहरुको झण्डा टोलीलाई हस्तान्तरण गरिएको थियो ।


जसमा श्री काली बक्स गणको झण्डा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले, श्री पूरानो गोरख गणको झण्डा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले, श्री सबुज गणको झण्डा गोरखा नगरपालिकाका उपमेयर विनाकुमारी श्रेष्ठले, श्री श्रीनाथ गणको झण्डा नम्बर ३ बाहिनी पति कुमार बाबु थापा र भमिसेन थापा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष बासु थापाले श्री बर्द बहादुर गणको झण्डा पदयात्रामा सहभागी टोलीका प्रतिनिधीहरुलाई हस्तान्तरण गरेका थिए ।

त्यस्तै कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा भने कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उपरथी श्रेष्ठले हस्तान्तरण गरेका हुन । कार्यक्रममा पदयात्राका नेतृत्वकर्ता श्री रिपुमर्दन गणका सहसेनानी रोहिन सेनलाई कार्यक्रमका अतिथीहरुले संयुक्त रुपमा टर्च हस्तान्तरण गरेपछि यात्रा सुरुवात गरिएको थियो ।

गोरखाकाे श्री रिपुमर्दन गणको संयोजन तथा मुख्य आयाेजनामा सुरु भएकाे पदयात्रामा नेपाली सेनाका ४० जना प्रतिनिधी सहभागी छन् । पदयात्रा कार्यक्रममा गाेरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकाले समेत सहयाेगी भुमिका खेलेकाे गणका सेनानी प्रकाश परियारले बताए ।

तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणको क्रममा प्रयोग गरेको बाटोको पहिचान गर्दै एकिकरण पदमार्ग निर्माणका लागि नेपाली सेनाले केहि बर्षदेखि हरेक पृथ्वी जयन्तीका अवसरमा पदयात्रा गर्दै आएको छ । तर अघिल्लाे बर्ष भने काेराेना भाइरसकाे जाेखिमका कारण पदयात्रा हुन सकेकाे थिएन ।

‘युनिफिकेसन ट्रेल’ का रुपमा सो मार्गलाई विकास गर्ने भन्दै सेनाले पदयात्रा सुरु गरेको सेनानी परियारले बताए ।
यो बर्ष पदयात्रामा १० जना तत्कालिन पृथ्वी नारायण शाह कालिन सेनाको कालो पोसाकमा र ३० जना हालको नेपाली सेनाको पोसाकमा गरी ४० जनाको समुह सहभागी रहेकाे बताइएकाे छ ।

पदयात्रामा सहभागी सैनिकहरु हनुमान चौतारीबाट पिपलथोक, ताप्ले, अश्राङ, घाटबेंसी हुँदै बोर्लाङ्गघाट पुगेर धादिङको सल्यानटारमा एक कार्यक्रम गरी गोरखाबाट लगिएको टर्च र झण्डा आज बेलुका नै धादिङको शिव दल गणका टोलीलाई हस्तान्तरण गर्नेछ ।

धादिङको शिव दल गणको टोलीले नुवाकोट र केहि दिनपछि नुवाकोटले काठमाण्डौलाई टर्च र झण्डा हस्तान्तरण गरेपछि उक्त टोली २६ गते साँझ काठमाण्डौंको हनुमान ढोका पुग्ने श्री रिपुमर्दन गणका सेनानी परियारले बताए ।


त्यससंगै सो टोली २७ गते हनुमानढोकामा आयोजित पृथ्वी जयन्यतीको औपचारिक कार्यक्रममा सहभागी हुने नेपाली सेनाले जनाएको छ ।




