• शनिबार, असोज ३ २०८३

कांग्रेसमा अबदेखि गुटबन्दी र भागबण्डा रोकिन्छ: महामन्त्री थापा


सोमबार, पुष १९ २०७८
785
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अबदेखि गुटबन्दी र भागबण्डा राेकिने बताएका छन्।

आमसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि अर्घाखाँचीको पाणिनी गाउँपालिका पुगेका उनले सम्बाेधन गर्दै भने,‘पार्टीमा हामी गुट भागबण्डा केही हुन दिन्नौं, सिंगो कांग्रेस बनाएर चलाउँछौं।’

पार्टीको झगडाले देशलाई अप्ठ्यारो परिरहेको बताउँदै त्यस्तो हुन नदिन आफू कटिबद्ध रहेको उनले जनाए।

एमालेबाट गाउँपालिका उपाध्यक्ष जितेकी लक्ष्मी गौतमलाई कांग्रेस प्रवेश गराउँदै उनले आगामी निर्वाचनसम्म १५ लाख जनालाई कांग्रेस प्रवेश गराउन लक्ष्य रहेको बताएका छन्।

उनले पार्टी प्रवेश कार्यक्रमलाई अभियानकै रूपमा लिएर आगामी आठ महिनामा १५ लाख जना प्रवेश गराउने दाबी गरे।

उनले भने,‘औपचारिक रूपमा घोषणा नभए पनि आजैबाट पार्टी प्रवेश अभियान सुरू भएको छ। आज ५०० जना अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नुभएको छ। अब १४ लाख ९९ हजार ५०० लाई पार्टीमा ल्याउँछौं। यहाँबाट फर्किने हरेकले थप एक जना पार्टी कसरी प्रवेश गराउने भन्नेबारे सोच्नुहोला।’

आगामी निर्वाचनबाट बहुमत हासिल गरेपछि पाँच वर्ष सरकार चलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे।

२०४८ सालमा बहुमत पाएको कांग्रेसले गरेको गल्ती र २०७४ सालमा नेकपाले बहुमत पाएर गरेको गल्तीबाट पाठ सिक्दै अघि बढ्ने उनको भनाइ थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार