
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीले विरोध प्रदर्शन गरेका छन्।
आईतबार पनि सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारी तथा कानून व्यवसायीहरुले आन्दोलन गरेका हुन्।

प्रर्दशनका क्रममा सञ्चारकर्मीसँग बोल्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाको विकृति र विसंगति हटाउन आफूहरूले आवाज उठाएको बताए।
उनले न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भिक ढंगबाट न्याय सम्पादन हुनुपर्ने र त्यसका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने बताए।
अध्यक्ष श्रेष्ठले बारले केही समयपछि राष्ट्रिय सम्मेलन गर्न लागेको र सम्मेलनमा न्यायपालिका सुधारको लागि हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनमा भइरहेको बाधालाई हटाएर काम अघि बढाउने बताए।

‘हामी न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भिक ढंगबाट न्याय सम्पादन होस्, त्यस किसिमबाट न्याय दिलाउन सकियोस्, भनेर आन्दोलन गरिरहेका छौं। हामी न्यायपालिकाको पहरेदारको हैसियतले न्यायपालिका भित्रको विद्यमान विकृति, विसंगति हटाउनको लागि हामीले आवाज उठाउने हो’, उनले भने।
उनले यो सुधार नभएसम्म आफूहरूको आन्दोलन जारी रहने बताए। ‘केही समयमै राष्ट्रिय सम्मेलन गर्न गइरहेका छौं। यसपालिको राष्ट्रिय सम्मेलन न्यापालिकाको सुधार र न्यापालिकाको सुधारको लागि बाधकको रुपमा रहेका जति छन् उनीहरुको बिरुद्धमा आन्दोन हुन्छ । न्यायपालिका सुधारको लागि हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनमा जुन बाधा भइरहेको छ, त्यो बाधा हटाउँदै अघि बढ्नेछौं,’ उनले भने।
अध्यक्ष श्रेष्ठले काठमाडौं उपत्यका बाहिर रहेका कानून व्यवसायीले अहिले भइरहेको आन्दोलन पर्याप्त नभएको गुनासो गरेसँगै अब झनै सशक्त आन्दोलन गर्ने बताए।
