
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले विद्युत खपत हुने क्षेत्रको खोजी गर्नुपर्ने बताएका छन् । पछिल्लो समय विद्युतको बजार खोज्न लागिएको भन्दै उनले बजार नभएर यसको खपत हुने क्षेत्र खोज्नुपर्ने बताएका हुन् । नागरिक लगानी कोषको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले विद्युतको खपत क्षेत्र खोज्नुको साटो बजार खोजेर उल्टो दिशामा गएको बताए ।

‘जलविद्युत थोरै मात्र उत्पादन हुँदा पनि हामी यसको बजार खोज्दै हिँड्नुपर्ने अवस्था छ’, उनले भने, ‘हाम्रो ऊर्जा क्षेत्रलाई बजार खोज्ने होइन, खपत हुने क्षेत्र खोज्ने हो । हामी उल्टो बाटोमा छौँ ।’ बजारले भन्दा खपत गर्ने क्षेत्रले बढी प्रतिफल दिने बताउँदै उनले खपतले मुलुकलाई आर्थिक विकासतिर लैजाने बताए । कृषि आधुनिकीकरण,औद्योगीकरण, शिक्षा तथा प्रविधि, स्वास्थ्य लगायतका क्षेत्रमा खपत गर्न सकिने मन्त्री शर्माले औँल्याए ।

त्यस्ता क्षेत्रको समयमै पहिचान गरी नागरिक लगानी कोष जस्ता कोषले लगानी गर्नुपर्नेमा समेत उनले जोड दिए ।नागरिक लगानी कोष ठूला कोषहरूमध्ये एक रहेको बताउँदै मन्त्री शर्माले यस्ता कोषहरूको उचित परिचालन गर्नुपर्ने बताए । कोषहरू निष्क्रिय रहेकाले तिनीहरूको परिचालनमा उनले जोड दिए । ‘कोषको पैसा लगानी भइरहेको छैन । लगानी गरेर पुँजी निर्माण गरिरहेको छैन’, उनले भने, ‘आजको दिनमा सबै कोषहरूलाई पुँजी निर्माणमा केन्द्रित गर्न आवश्यक छ ।’
