राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन माग गरेको छ।
विगतमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने गरिएकोमा गणतन्त्र आएपछि सरकारले बिदा कटौती गरेको थियो।
पुस २७ गते पुनः बिदाको माग गर्दै राप्रपाले सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय पदाधिकारीहरुको बैठकले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको उपलक्ष्यमा पुस २७ गते सार्वजनिक विदा घोषणा गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो।
यस्तै, राप्रपाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती पुस २७ गते सबै जिल्लाहरुमा सार्वजनिक स्थानमा नारा, जुलुस, सभाको आयोजना गरि मनाउने र काठमाडौंमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा सम्मान अर्पण गर्ने जनाएको छ।