• शुक्रबार, साउन १५ २०८३

माओवादी केन्द्रीय सदस्यका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन माग


बुधबार, पुष १४ २०७८
620
Shares

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा सहभागी प्रतिनिधिहरुले पार्टीका केन्द्रीय सदस्यका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने व्यवस्था गराउनुपर्ने बताएका छन् । गण्डकी प्रदेश समूह नम्बर १० मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिवेदनमाथि भएको छलफलको निष्कर्ष सुनाउँदै गायत्री गुरुङले यस्तो बताएकी हुन् ।

कर्मचारीहरु, नेता–कार्यकर्ता तथा कम्तीमा पनि केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने, नेतृत्वको जीवनशैली सरल र व्यवस्थित बनाउन ध्यान दिनुपर्ने उनले बताइन् । उनले एक व्यक्ति दुई पटकभन्दा बढी लाभको पदमा जान नपाउने नीति लागू गर्नुपर्ने र एक परिवारका दुई वा दुईभन्दा बढी व्यक्तिलाई एकै पटक लाभको पदमा जाने व्यवस्था बन्द गरिनुपर्ने पनि बताइन् ।उनले एमसीसीलाई परिमार्जनसहित पारित गर्ने नभई पूर्ण रुपमा खारेज गर्नुपर्ने पक्षमा सुझाव आएको पनि बताइन् ।

भारतले राष्ट्रियताका प्रश्नमा ठुलो समस्या खडा गरेको भन्दै उनले भारतसँगको असमान सन्धि र सीमानाबारे प्रतिवेदनमा उल्लेख गरिनुपर्ने उल्लेख गरिन् ।यस्तै, कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा पारित गरेको स्वामित्व आफ्नो पार्टीले लिनेगरी दस्तावेजमा उल्लेख गर्न पनि सुझाव आएको उनले जानकारी दिइन् । यस्तै, साम्राज्यवाद विरोधी अन्तर्राष्ट्रिय मोर्चा निर्माण गर्नुपर्ने, माओले उठाएको दलाल र नोकरशाही पूँजीवादको चरित्रबारे नेपालको सन्दर्भमा प्रस्ट पारिनुपर्ने माग पनि आफ्नो समूहमा उठेको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार