
जनकपुरधाम। गृहमन्त्री बालकृष्ण खाणले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका छन् ।
मंगलवार जनकपुरमा सञ्चारकर्मी सँग कुराकानी गर्दै गृहमन्त्री खाणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको बताए । उनले एमसीसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको पनि बताए ।उनले भने, ‘एमसीसी पूर्ववर्ति सरकारहरुको पालोमै अगाडी बढेको हो। यो नेपालको विकासका लागि नेपाल सरकारले नै एमसीसीको प्रस्तावलाई अगाडी बढाएको हो । नेपाल सरकार र एमसीसी परियोजनाको बिचमा धेरै वर्ष अगाडी नै सम्झौता भएको हो । त्यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व हो।’
गृहमन्त्री खाणले एमसीसी परियोजना ऋणमा नभइ निशर्त अनुदान भएको स्पष्ट पारे। सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको उनले बताए ।
‘एमसीसीको बारेमा केही भ्रम पनि होलान् । यो अमेरिकन सरकारले गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसै अन्तर्गत नेपाल सरकारले विद्युतीकरण र विद्युतीकरणको पनि ट्रान्समिशन स्थापनाका लागि र सडक निर्माणका लागि प्रस्ताव गरेको हो, र त्यसलाई उहाँहरुले स्वीकार गर्नुभएको हो । उनले भने, ‘यो निस्शर्त अनुदान हो । एमसीसीको जुन परियोजना छ, त्यो ऋणमा होइन, अनुदानमा हो । दलहरुको बिचमा छलफल भइरहेको छ। छलफलबाट निष्कर्ष निस्किन्छ र अगाडी बढ्छ ।’
उनले एमसीसी संसदबाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलहरुबीचमा छलफल चलिरहेको उल्लेख गर्दै छलफलबाट निष्कर्ष निस्किने र अगाडी बढ्ने बताए ।