
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने बताएका छन्।
गृहजिल्ला तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले सत्तारुढ गठबन्धनमा एमसिसीबारे साझा धारणा बनाउन कार्यदल गठन भएको र छिट्टै साझा धारणा सार्वजनिक हुने बताए। एमसिसीका अन्तरवस्तुका बारेमा पार्टीभित्र पनि छलफल भइरहेको उनको भनाई छ।
फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले श्रम क्षेत्रमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन आफू केन्द्रित रहेको बताए।
देशभित्र रोजगजारीको अवसर वृद्धि गर्ने, स्वरोजगारीका लागि प्रोत्साहित गर्ने तथा सम्मानजनक वैदेशिक रोजगारीका लागि विभिन्न सुधारका काम अघि बढाइएको उनको भनाई थियो। ‘वैदेशिक रोजगारीका नाममा हुने ठगी र छलीका घटना अन्त्य गर्न कार्यदल बनाएका छौँ,’ उनले भने, ‘वैदेशिक रोजगार नीति तथा कार्ययोजना पुनरावलोकन गर्ने तयारी पनि हामीले अघि वढाएका छौँ।’
रोजगारीका लागि तुलनात्मक लाभ भएका रोजगार गन्तव्य मुलुकहरूको खोजी गर्ने र त्यस्ता मुलुकमा नेपाली श्रमिकको हकहित संरक्षण र संवद्र्धनका लागि पहल गरिने मन्त्री श्रेष्ठले बताए।