
गोरखा । गोरखा चेम्बर अफ कमर्सले पर्सि पुस ५ गतेदेखि गर्ने भनिएको कृषि तथा ब्यापार प्रवद्र्धन मेला नहुने भएको छ । चेम्बरले पुस ५ देखि ११ दिनसम्म गोरखा सदरमुकामको हरमटारी स्थित खेलकुद मैदानमा मेला आयोजना गर्ने भन्दै तयारी थालेको थियो ।

मेला स्थललाई लिएर सुरुदेखि नै चेम्बर र जिल्ला खेलकुद विकास समिती, एन्फा लगायतका खेल संबद्ध संघसंस्थावीच विवाद भएपनि चेम्बरले भने तयारीलाई तिब्रता दिएको थियो । तर मेला सुरु हुनु २ दिनअघि प्रशासनले तत्कालका लागि मेला स्थागित गर्ने निर्णय गरेको छ ।

आज शुक्रबार जिल्ला प्रशासन कार्यालय गोरखामा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा भएको सर्वपक्षिय बैठकले तत्कालका लागि मेला स्थगित गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) र गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ्गले खेल मैदानमा अन्य गतिविधी नगर्न निर्देशन दिएको पत्रका आधारमा तत्कालका लागि मेला स्थगित गर्ने निर्णय गरिएको प्रजिअ आचार्यले बताए ।


खेलकुद मैदानमा मेला गर्न दिने सम्झाैता रद्ध गर्न यसअघि नै राखेपले जिल्ला खेलकुद विकास समिती गोरखालाई पत्र समेत काटेकाे थियाे । समितीका अध्यक्ष शान्तसिं बस्न्यातले समितीकाे बैठकबाट निर्णय नै नगराई एकलाैटी ढंगबाट चेम्बरलाई मेला गर्न दिने भन्दै सम्झाैता गरिदिएका थिए । तर सम्झाैता भएकाे केहिदिनमै राखेपले समितीलाई सम्झाैता रद्ध गर्न भनेकाे थियाे ।
यता मेला स्थललाई लिएर जिल्लामा खेलकुद संग आवद्ध संघसंस्थाले समेत सुरुदेखि नै विराेध गर्दै आएकाे र केहि दिन अघि मात्रै मेला राेकिदिन प्रजिअलाई ज्ञापनपत्र समेत बुझाएका थिए । तर चेम्बरले स्थानीय प्रशासन, स्थानीय तह, खेलकुदसंग आवद्ध संघसंस्था कसैसंग समेत समन्वय नगरी मेलाकाे तयारी गरिरहेकाे थियाे ।


तर विवादका विच मेला गर्न उचित नहुने भन्दै साेमबार उद्घाटन गर्ने भनिएकाे मेला शुक्रबार स्थगित गरिएकाे प्रशासनले जनाएकाे छ ।
मेला आयाेजक गोरखा चेम्बर अफ कमर्सले उद्घाटनका दिनका लागि अतिथीहरुलाई निमन्त्रणा कार्ड समेत बाँडिसकेकाे थियाे । यता आज शुक्रबार समेत खेलकुद मैदानमा मेला आयाेजना नगर्न दवाव दिन भन्दै एन्फा, हरमटारी क्लब लगायतकाे नेतृत्वमा खेल मैदानमै युवाहरुले धर्ना दिएका थिए ।

‘हाम्रो दायित्व, हामी जिम्मेवार खेल मैदान जोगाउने सबैको रहर’, ‘खेलमैदानमा खेल खेलाउने हो, मेला/ महोत्सव गर्न निषेध गर्ने हो’, ‘खेलकुद विकास हाम्रो छ सपना रंगशाला बचाउन सबैको छ कामना’, ‘मेला महोत्सव गर्ने स्थलको विकल्प खोजौ खेलकुद मैदानको संरक्षणमा जुटौ’ लगायतका नारा लेखिएका प्लेकार्डसहित युवाहरुले मेला तयारी स्थल खेल मैदानमा प्रदर्शन गरेका थिए ।