गोरखा । नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ । १० औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि कार्यविभाजन गरिएको हो ।
एमालेले अन्तर्पार्टी निर्देशन (अपानि) जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्ज र सहइन्चार्जहरु पनि तोकेको छ ।
जसमा नेकपा एमाले गोरखाकाे इन्चार्जमा रामशरण बस्नेत चयन भएका छन् । १० औं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्य निर्वाचित बनेका बस्नेतले यसअघि मनाङ्ग र गोरखाकाे इन्चार्जकाे जिम्मेवारी सम्हालिसकेका छन् । उनि पृथ्वी सुब्बा गुरुङ्ग सरकारमा गण्डकी प्रदेश सरकारका प्रवक्ताका साथै भाैतिक पूर्वाधार मन्त्री समेत थिए ।
त्यस्तै एमाले गोरखाकाे सहइन्चार्जमा सम्झना देवकाेटा चयन भएकी छिन । उनि समेत १० औं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा चुनिएकी थिइन । बस्नेत र देवकाेटा दुवै गोरखा नगरपालिका ३ नारेश्वरका स्थायी बासिन्दा हुन् ।
यसैगरी केन्द्रिय स्तरमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्दा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको छ ।
एमालेको तेस्रो वरियतामा रहेका उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने र अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन गर्ने जिम्मा दिइएको छ ।
अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मा पाएका छन् ।
महासचिव शंकर पोखरेलले सांगठनिक कामको संयोजन गर्ने जिम्मा पाउँदा उपाध्यक्ष विष्णु पौडेलले सांगठनिक कामको अनुगमन गर्ने जिम्मा पाएका छन् ।
उपमहासचिव प्रदीप ज्ञवालीले स्कुल विभाग पाउँदा पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मा पाएका छन् ।
अर्का उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापन प्रमुख बनाइएको छ । स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई भने अर्थ तथा योजना विभागको प्रमुख बनाइएको छ ।
सचिव टोपबहादुर रायमाझीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख, गोकर्ण विष्टलाई ऊर्जा, योगेश भट्टराईलाई स्वास्थ्य विभाग प्रमुख र अर्का सचिव लेखराज भट्टराई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
स्थायी कमिटी सदस्य मणि थापाले भूमि व्यवस्था विभागको जिम्मा पाएका छन् ।