• शुक्रबार, साउन १५ २०८३

काठमाडौंमा शेरधनले खोलेको मुख्यमन्त्रीको सम्पर्क कार्यालय बन्द


बुधबार, मंसिर २९ २०७८
805
Shares

विराटनगर । प्रदेश १ सरकारले तत्कालिन मुख्यमन्त्री शेरधन राईले काठमाडौंमा स्थापना गरेको सम्पर्क कार्यालय बन्द भएको छ ।

प्रदेश १ का पहिलो मुख्यमन्त्री राईले काठमाडौँको महाराजगञ्जमा सम्पर्क कार्यालय खोलेका थिए । सरकार परिवर्तन भएर राजेन्द्र राई मुख्यमन्त्री भएपछि सो कार्यालय बन्द गरिएको हो ।मुख्यमन्त्री राईले भने, ‘मासिक करिब ४ लाख रुपैयाँ नै खर्च लाग्ने गरी सम्पर्क कार्यालय खोलिएको थियो । त्यो बन्द भइसकेको छ ।’ काठमाडौंको सम्पर्क कार्यालयमा रहेका सामग्री प्रदेश १ मा मुख्यमन्त्रीको निवासमा राखिएको उनले बताए ।

नियुक्तिपछिको दुई दिन होटलमा बसेका मुख्यमन्त्री राई डेढ महिना नेपाल राष्ट्र बैंक विराटनगर शाखाको गेष्ट हाउसमा बसेका थिए । बुधबार उनी सुनसरी मोरङ सिँचाइ आयोजनाको भवनमा बनाइएको मुख्यमन्त्री निवासमा सरेका छन् ।

‘शपथ ग्रहण गरेपछि मुख्यमन्त्री सडकमा पुग्ने अवस्था भयो,’ उनले भने, ‘नयाँ मुख्यमन्त्री आउँदा सडकमा जान नपरोस्, शपथ ग्रहणलगत्तै निवासमा सर्न र बस्न सक्ने अवस्था होस् भनेर सरकारी भवनमा सरेका छौं ।’

तत्कालिन मुख्यमन्त्री शेरधन राईले विराटनगर महानगरपालिका–३ मा निजी घर भाडामा लिएर मुख्यमन्त्रीको निवास बनाएका थिए । मुख्यमन्त्रीबाट राजीनामा दिएपछि उनले सो घर निजी रुपमा भाडामा लिएपछि पूर्व मुख्यमन्त्री भीम आचार्य पनि राष्ट्र बैंकको गेष्ट हाउसमा बसेका थिए ।

आफू सरकारी भवनमा सरेका मुख्यमन्त्री राईले अन्य मन्त्रीको क्वार्टर पनि सरकारी भवनमा नै बनाउने प्रयास भइरहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार