
सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुख सापकोटाले मंगलबार अपराह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
सामान्यतया संसद् बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने चलन छ । उक्त बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग संसद् बैठक तयारीबारे छलफल गर्ने गरिन्छ । सोही अनुसार सभामुखले अपराह्न १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
प्रतिनिधि सभा अन्तर्गतको १० औँ बैठक मंगलबार दिउँसो २ बजे बस्दैछ । यसअघि २३ भदौमा सुरु भएको संसद् अधिवेशन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगातार अवरोध गरेपछि कात्तिक ११ मा अन्त्य गरिएको थियो ।