
नेपाली कांग्रेसको उपसभापतिमा मनोनयन दर्ता गराएका नेता महेश आचार्यले पार्टीभित्र मर्न थालेको नीति र विचारको राजनीतिलाई नयाँ जीवन दिन आफू चुनावी मैदानमा होमिएको बताएका छन्। सोमबार महाधिवेशन प्रतिनिधिहरूका लागि एउटा चिठी लेख्दै आचार्यले कांग्रेसलाई गुटबन्दीको धमिराले खाइसकेको पनि बताएका छन्।
‘मेरो उम्मेदवारी पार्टीभित्र मर्न थालेको नीति र विचारको राजनीतिलाई नयाँ जीवन प्रदान गर्नु हो’, उनले भनेका छन्, ‘गुटबन्दीको धमिराले खाइरहेको संगठनको शक्तिलाई जोगाउनका लागि हो। निष्ठाको राजनीति गर्ने साथीहरुको स्वाभिमानमाथि पैसा र बल प्रयोगको प्रहार रोक्नका लागि हो ।’
उनले देश अहिले गम्भीर संकटमा परेको पनि बताएका छन्। ‘लोकतन्त्रका स्तम्भ संसद, सरकार र न्याय क्षेत्र प्रभावहीन र अस्तव्यस्त छन्। कोरोना महामारी र जलवायु संकटको दोहोरो मारबाट जनताको जीवन, रोजगारी र समग्र अर्थ व्यवस्था धरापमा परेको छ।’
आचार्यले चीन र भारतबीचको बढ्दो द्वन्द्व र अन्तर्राष्ट्रिय तनावको भूमरीमा देश फस्दै गएको पनि बताएका छन्। आचार्यले देश गम्भीर राष्ट्रिय संकटमा फस्दा पनि कांग्रेस भने विचार शून्य हुँदै गएको पनि गुनासो गरेका छन्।
‘राष्ट्रिय संकटको यस्तो घडीमा हाम्रो पार्टी विचार शून्य भयो। नीतिगत बहस र अग्रसरतामा चुक्यो भने राष्ट्रको अस्मिता जोखिममा पर्न सक्छ’, उनले भनेका छन्, ‘मेरो उम्मेदवारी यो संकटबाट देशलाई जोगाउने वैचारिक अभियानमा केन्द्रित छ।’
उनले मतदातालाई विचार र गुट एक रोज्न पनि अपिल गरेका छन्। ‘मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्नेरु तपाईंको विवेकले उचित निर्णय गर्नेछ’, उनले भनेका छन्।
आचार्यले आइतवार कांग्रेसको उपसभापतिमा उम्मेदवारी दर्ता गरेका थिए। कांग्रेसका कुनै पनि गुटमा नसमेटिएपछि उनले एक्लै उपसभापति लड्ने निर्णय लिएका हुन्।