
काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंमा आयोजित १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भने पनि बिभिन्न जिल्लाबाट कांग्रेस कार्यकर्ताहरु काठमाडौं उपत्यका भित्रिने क्रम केही बढेको छ ।
कांग्रेसले पहिलेजस्तो उपत्यका बाहिरबाट कार्यकर्ताहरु नओसारे पनि कार्यकर्ताहरु स्वतःस्फूर्त काठमाडौं उपत्यकामा आएका छन् ।ट्राफिक प्रहरी प्रवक्ता सञ्जिव शर्मा दासले काठमाडौं उपत्यका भित्रिने सवारी साधनहरुको संख्या केही बढे पनि धेरै चाप भने नभएको बताए । उनले भने, ‘म बिहान सबैतिर घुमें । अहिले पनि भृकुटीमण्डप क्षेत्रमै छु, सडकमा खासै चाप छैन । तर काठमाडौं भित्रिने सवारी साधनको संख्या भने केही बढेको छ ।’ उनका अनुसार बिहीबार काठमाडौं उपत्यकामा ८ हजार २ सय सवारी साधन भित्रिएकोमा आज बिहान ८ हजार ६ सय सवारी साधन भित्रिएको तथ्यांक रहेको प्रवक्ता शर्माले बताए ।
महाधिवेशनका लागि आएका सवारी साधनहरुलाई खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको छ । उदघाटन समारोह सुरु हुनुभन्दा केही समय अगाडि भने प्रदर्शनीमार्ग र त्यस वरपर मानिसहरुको चाप बढ्ने अनुमान छ । चाप बढेमा पद्मोदय मोडबाट पैदलयात्रीलाई मात्र प्रवेश दिने गरी तयारी गरिएको ट्राफिक प्रहरी प्रवक्ता दासले बताए । कांग्रेसले महाधिवेशनमा जुलुश ननिकाल्ने भएकाले सडक क्षेत्र खासै अस्तव्यस्त नहुने ट्राफिक प्रहरीको अनुमान छ ।
प्रत्येक चार वर्षमा हुनुपर्ने नेपाली कांग्रेसको महाधिवेशन पाँच वर्ष नौ महिनापछि आजदेखि सुरु हुँदै छ । महाधिवेशनको उदघाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुँदैछ ।