• शुक्रबार, साउन १५ २०८३

नेवि संघ अध्यक्ष राजिव ढुंगाना केन्द्रीय सदस्यको उम्मेदवार बन्ने


बुधबार, मंसिर २२ २०७८
715
Shares

नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले पनि कांग्रेसको १४औँ महाधिवेशनमा पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्।

आफू विशेष परिस्थितिमा अध्यक्ष भएकोले पार्टीमा एउटा आशावादी अनुहारका रुपमा आउन लागेको ढुंगानाले बताएका छन्।

‘नेवि संघबाट किन पार्टीमा आउन हतारो भन्ने होला। म विशेष परिस्थितिमा अध्यक्ष भएको हुँ’, उनले भने।

उमेर हदका कारण नेविसंघको राजनीति गर्दिन भने पनि नेताहरूले जिम्मेवारी दिएकाले अध्यक्ष बनेको उनले खुलाए।

अब भने पार्टीलाई अघि बढाउन केन्द्रीय सदस्यमा उठ्नलागेको उनले बताए।

‘अब कांग्रेसलाई हाँक्न, अघि बढाउन सक्नुपर्नेछ। सबै जनताले आशावादी नजरले हेरेका छन्’, उनले भने, ‘गल्ती कमजोरीलाई सुधारेर अघि बढोस् भन्ने चाहना छ। कांग्रेसलाई प्रशिक्षित कार्यकर्ताको अनुशासित संगठन चाहिएको छ।’

संगठन अनुशासन भएन भने चुनावमा जित हासिल गर्न नसकिने बताउँदै उनले अनुशासनको दायरा बढाएर लानुपर्ने बताए।

उनले थपे, ‘हामीले केन्द्रीय समितिमा कुरा उठाउछौँ। १० लाख नयाँ मतदाता थप्नुपर्नेछ र त्यसका लागि युवामैत्री कांग्रेस बनाउनुपर्छ।’

उनीहरूका लागि रोजगारीको अवसर सिर्जना गर्नुपर्ने, राष्ट्रियता र जनजीविकाका मुद्दामा कांग्रेस खरो उत्रिन आवश्यक रहेको उनले बताए।

भागबण्डामा होइन पद्धतिमा चल्ने पार्टीका रूपमा कांग्रेसलाई विकास गर्न जरूरी रहेको उनको भनाइ छ।

पार्टीमा क्रियाशील सदस्यता वितरणमा सुधार गर्नुपर्ने बताउँदै उनले भ्रातृसंस्थालाई भुत्ते बनाएर राख्न नहुनेमा जोड दिए।

उनले पार्टीमै जान्छु भनेपछि नेवि संघ अध्यक्षबाट राजीनामा दिन अप्ठ्यारो नरहे पनि केन्द्रीय समितिमा एकपटक छलफल गर्ने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार