काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा गोरखाका अब्दुल सतारले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल मुस्लिम संघका संस्थापक अध्यक्षसमेत रहेका सत्तारले मुस्लिम आरक्षण कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
कांग्रेसको विधानअनुसार मुस्लिम आरक्षण तर्फबाट एकजना सहमहामन्त्री, दुईजना पुरुष सदस्य, एकजना महिला सदस्य गरी केन्द्रीय समितिमा चारजनाको प्रतिनिधित्व हुने व्यवस्था छ।
नेपाली कांग्रेसका नेताहरुले आफू अनुकुल विधानको व्याख्या गर्दा निकै समस्या आउने गरेकोले भोलिका दिनमा पार्टीलाई बिधानसम्मत ढंगबाट अघि बढाउनका लागि आफूले पहल गर्ने उनी बताउँछन्। भन्छन्, ‘आफू अनुकुल हुँदा ठीक र प्रतिकुल हुँदा बेठिक ठान्ने प्रवृतिको अन्त्य नगरेसम्म पार्टीलाई विधिसम्मत ढंगबाट अघि बढाउन सकिँदैन।’
पछिल्लो समय कांग्रेसमा युवापुस्ताको आकर्षण बढ्न सकेको छैन। युवा पुस्तालाई कांग्रेससँग जोड्न सकेमात्र आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन सकिने भएकोले युवा जोश र जाँगरलाई कांग्रेससँग जोड्नका लागि प्रमुख रुपमा आफ्नो उम्मेदवारी केन्द्रित रहेको सत्तारको भनाइ छ।
आर्थिक रुपमा आफू पारदर्शी हुने र पार्टीलाई पनि पारदर्शी ढंगबाट अघि बढाउनका लागि आफूले प्रयास गर्ने उनले बताए। साथै, पार्टीका हरेक तहमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आफूले केन्द्रमा गएर महत्वपूर्ण भूमिका निर्वाह गर्न केन्द्रीय सदस्यका उम्मेदवारी दिएकाे उनकाे भनाइ छ।
नेपाली कांग्रेस समावेशी पार्टी भए पनि तल्लो तहको अधिवेशनका क्रममा सिंगो मुस्लिम समुदायको प्रतिनिधित्व नहुने गरी निर्वाचन निर्देशिका जारी भएपछि पार्टीको नीति र सिद्धान्तअनुसार व्यबहार नभएको भन्दै मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चितताका लागि संघको अध्यक्ष सत्तारको अगुवाईमा आन्दोलन भएपछि वडा तहबाट प्रतिनिधित्व सुनिश्चित गराइएको थियो।
अझै पनि क्षेत्रीय तहबाट प्रतिनिधित्व सुनिश्चित हुन नसकेको भन्दै सत्तारले भोलिका दिनमा हरेक तहमा प्रतिनिधित्व सुनिश्चित गराउनका लागि आफूले पहल गर्ने बताउँछन्। सत्तार गोरखाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छन्।