
कर्णजित बुढाथोकी नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र (समाजवादी)ले एमसीसी खारेजका लागि दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट जबरजस्ती पास गरेमा कडा जनसंघर्षमा उत्रिने चेतावनीसमेत दिएको छ ।
एमसीसी सम्झौता विरुद्ध जनप्रदर्शन, धर्ना, घेराउ, आमसभा सञ्चालन गर्दै आइरहेको नेकपा माओवादी केन्द्र समाजवादीले मंसिर २३ गतेबाट ७ वटै प्रदेशमा हस्ताक्षर संकलन अभियान संचालन गर्ने भएको छ ।पत्रकार सम्मेलनमा सो पार्टीका अध्यक्ष कर्णजित बुढाथोकीले नेपाल र नेपाली जनताको हितमा एमसीसी सम्झौता नभएको स्पष्ट पारे ।
उनले सम्झौता नेपालको परराष्ट्र नीतीको विरुद्धमा भएको पनि जिकिर गरे । ‘डिसेम्बर १४ मा अमेरिकामा एमसीसी सम्बन्धी बैठक हुँदैछ र नेपालमा पनि सोही दिन संसदको अधिवेशन हुँदैछ,’ उनले भने, ‘यही विषयलाई लिएर अमेरिकामा र नेपालमा जुन बहस हुँदैछ, यसैलाई आधार बनाएर देशका सच्चा नेपालीहरु र राजनीतिक दलका नेताहरु समयमै ऐतिहासिक पहलकदमीमा अघि बढ्नुपर्ने बेला भएको छ ।’
बुढाथोकीले भोलि हुने पश्चातापलाई आजै महसुस गरी सम्झौता खारेज गर्नुपर्नेमा जोड दिए । जटिल र संवेदनशील राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै राष्ट्रघाती एमसीसी सम्झौता लागु नगर्न जोडदार माग गर्नुको विकल्प नरहेको उनको भनाइ थियो ।
उनले आम जनताको तीव्र विरोध र आपत्तिको बाबजुद पनि जबरजस्ती संसदबाट एमसीसी सम्झौता पास गराएको खण्डमा आफ्नो पार्टीे कडाभन्दा कडा जनसंघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिए ।
उनले एमसीसी पास गर्न हुन्न भन्ने पक्षमा आफ्नो पार्टीले लाखौं जनताको हस्ताक्षर संकलन गर्न लागेको समेत जानकारी दिए ।