नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सूचीभन्दा बाहिरबाट उठेका चारै नेताहरु पराजित भएका छन्।
ओलीले दोस्रो कार्यकाल विजयी हुने क्रममा १८४० मत ल्याउन सफल भएका छन्। पराजित रावलले २२३ मत ल्याएका छन्।
उनीहरु दुवैजनालाई ३३ जनाले ‘नो भोट’ गरेका छन्। यससँगै ओलीले आगामी ५ वर्षका लागि एमालेको बागडोर सम्हाल्ने छन्।
ओलीले ९० प्रतिशत मत ल्याउँदा रावलको पक्षमा १० प्रतिशत मात्रै खसेको छ।
त्यस्तै उपाध्यक्षमा उठेका नेता घनश्याम भुसाल पनि पराजित भएका छन्। सहमतिबाट नेतृत्व चुन्ने ओलीको प्रयासलाई चुनौती दिँदै उपाध्यक्षका लागि मैदानमा उत्रिएका भुसालले ७ सयभन्दा धेरै भोट ल्याए पनि पराजित भए।
उपाध्यक्षतर्फ
यसअघि नै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल निर्विरोध भइसकेका छन्। त्यस्तै उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल पनि निर्विरोध विजयी भइसकेका छन्।
उपाध्यक्षतर्फ ओलीको सूचीमा परेका ६ जना नै विजयी भएका छन्। उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’ विजयी हुँदा ओलीको सूचीबाहिरका घनश्याम भुसाल ७२५ मत ल्याएर पराजित भएका छन्।
उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले १९७६, सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा ‘बादल’ले १७६८ मत ल्याएर विजयी भएका हुन्।
सचिवतर्फ
एमाले सचिवमा भएको निर्वाचनको नतिजा अनुसार गोकर्ण विष्टले सबैभन्दा धेरै १९७६ मत ल्याएका छन्। त्यस्तै योगेश भट्टराईले १९६४ मत पाएर विजयी भएका छन्।
उनीहरु दुवै जना पार्टी विभाजनका क्रममा माधव नेपाललाई साथ नदिएर एमालेमै फर्किएका नेता हुन्।
त्यस्तै यो पटक सचिवमा बढुवा भएकी पद्मा अर्यालले १८०० मत ल्याइन्। सचिवमै विजयी छविलाल विश्वकर्माले १८००, माओवादीबाट आएका लेखराज भट्टले १७०४ मत पाएका छन्।
त्यस्तै माओवादीबाटै आएका टोपबहादुर रायमाझी १७०० मतसहित विजयी भएका छन्। यो पटक सचिवमा आएका रघुवीर महासेठले १५१३ मत पाएर विजयी भएका छन्।
अर्कातिर ओलीको सूची बाहिरबाट लडेका नवौँ महाधिवेशनका सचिव भीम आचार्यले १३०० मत ल्याएका छन्। ओलीको सूचीबाहिरकै टंक कार्कीले भने न्यून ५०० मत मात्रै ल्याएका छन्।
यो पटक अध्यक्षमा ओली र रावलबीच प्रतिस्पर्धा थियो। त्यस्तै ६ जना उपाध्यक्षका लागि सातजना मैदानमा थिए। जहाँ भुसाल पराजित भए। त्यस्तै सचिवमा प्रदेश १ का पूर्व मुख्यमन्त्री आचार्य र कार्की पराजित भएका छन्।