
नेकपा एमालेको महाधिवेशनको मतदानमा ७२ वटा विद्युतीय मेसिन प्रयोग हुने भएको छ।
मतदान गराउने जिम्मा पाएको रामलक्ष्णम इनोभेसन्सका रामप्रसाद रिमालले कतिपय नाममा सर्वसम्मत भएकाले ७२ मेसिनमात्र प्रयोग गर्न लागिएको बताए। ‘ हामीले १ सय मेसिन चितवन ल्याएका थियौँ’, रिमालले भने, ‘७२ वटा प्रयोग गर्ने भएका छौं।’
एमाले महाधिवेशनमा २२ सय ८७ प्रतिनिधि सहभागी छन्।
नेकपा एमालेको निर्वाचन आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार आज राति ९ बजेदेखि बिहान ३ बजेसम्म मतदान हुनेछ।रिमालले मतदानका लागि ६ घण्टाको समय पर्याप्त हुने बताए।
‘एक जनालाई मत खसाल्न १५ मिनेट लाग्ने हाम्रो अनुमान छु, रिमालले भने, ‘धेरै उम्मेदवार र सबै पदमा निर्वाचन भएको भए आधा घण्टा लाग्न सक्थ्यो। उम्मेदवारी कम परेकाले छिटो हुने आकलन गरेका छौं।’
रिमालका अनुसार मतदान सम्पन्न भएको ३ घण्टामा मतपरिणाम आउनेछ।
‘हामीले प्रत्येक मेसिनमा खसेको मतलाई राखेर एउटा टेबल बनाउँछौं र जोड्छौं,’ रिमाल ले भने, ‘ यो प्रक्रिया सम्पन्न गर्न २ घण्टा लाग्छ।’
तर निर्वाचनको प्रक्रियामा अन्य विधिवत् काम गर्नुपर्ने भएकाले ३ घण्टा लाग्ने रिमालले बताए।
निर्वाचनमा मत जोड्दा प्रतिनिधि राख्नेदेखि मुचुल्का उठाउने लगायतका काम हुन्छन्, रिमालले भने, `त्यसमा एक घण्टा लाग्छ।’
एमालेको निर्वाचन कार्यक्रम अनुसार मंगलबार बिहान सबेरै मतपरिणाम आउने देखिन्छ।