• बिहिबार, साउन १४ २०८३

एमाले महाधिवेशन: आज यसरी मिलाइएको छ चितवनमा ट्राफिक व्यवस्थापन


शुक्रबार, मंसिर १० २०७८
885
Shares

एमाले महाधिवेशनलाई लक्षित गरेर स्थानीय प्रशासनले आजको लागि चितवनमा ट्राफिक व्यवस्थापन गरेको छ। यात्रुलाई सहज हुने गरी आजको लागि ट्राफिक व्यवस्थापन मिलाइएको स्थानीय प्रशासनले जनाएको छ।

नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशन उद्घाटनको दिन आज चितवनको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन नदिन स्थानीय प्रशासन लागि परेको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा आज मालवाहक गाडी सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ।

नारायणगढ र भरतपुरका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक गाडी नरोकिने  गरी ट्राफिक व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। अत्यावश्यक बाहेक अरु गाडीका लागि वैकल्पिक बाटोको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए। 

पूर्व पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट ओहोरदोहोर गर्ने बसलाई वैकल्पिक बाटोको व्यवस्था गरिएको छ। पूर्वबाट चितवन हुँदै गुड्ने गाडी बाइपास रोड हुँदै जान पाउनेछन्। 

पूर्वबाट काठमाडौँ ओहोरदोहोर गर्ने गाडी भरतपुरको जिल्ला प्रशासन कार्यालय चोक, बाइपास–आँपटारी हुँदै चल्न पाउनेछन् । पूर्वबाट पश्चिम चल्ने गाडीलाई प्रशासन कार्यालय चोकबाट दक्षिण बाटो हुँदै नारायणी पुलसम्मको वैकल्पिक बाटो तय गरिएको स्थानीय प्रशासनले जनाएको छ।

पश्चिमबाट छुट्ने गाडी भने नवलपरासीतिर नारायणी पुलको नजिकबाट शिवघाट जाने बाटो हुँदै पूर्वतर्फ र काठमाडौँ चल्न मिल्ने चितवन प्रशासनले जनाएको छ । त्यसैगरी पूर्वबाट पश्चिम चल्ने गाडी आँपटारी–बाइपास हुँदै जिल्ला प्रशासन कार्यालय चोकबाट घुमेर नारायणी पुलतर्फ जानु पर्नेछ ।

पूर्व–पश्चिम चल्ने यात्रुवाहक गाडी नारायणीको पुल हुँदै चल्न पाउने छन्। तर त्यस्ता गाडि नारायणघाटको मुख्य बजार क्षेत्रमा प्रवेश गर्न नपाउने ट्राफिक प्रहरीले जनाएको छ। 

आज नारायणीको पुलमा अरु भीडभाड गर्न रोकिनेछ। त्यस्तै बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्र अत्यावश्यक बाहेकका गाडी प्रवेशमा रोक लगाइएको छ।

आज बिहान १० बजेदेखि बेलुकासम्म ती क्षेत्रमा सार्वजनिक सवारी साधनलाई प्रवेश निषेध गरिएको स्थानीय प्रशासनले जनाएको छ। तर, एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, मृत्युसंस्कार लगायतका काममा चलेका गाडीलाई भने निर्वाध रुपमा चल्न दिने स्थानीय प्रशासनको तयारी छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार