
गोरखा । नेकपा एमाले गोरखाले महाधिवेशनमा जानका लागि गोरखामा करिब १ सय वटा बस रिजर्भ गरेकाे छ । भाेली १० गते चितवनकाे नारायणी नदी किनारमा हुने उद्घाटन सत्रमा भाग लिन नेता तथा कार्यकर्तालाई लैजान एमाले गोरखाले १ सयकाे हाराहारीमा बस रिजर्भ गरेकाे जनाएकाे छ ।

‘अहिलेसम्म ९४ वटा बस बुक भइसकेकाे छ, बेलुकासम्म आवस्यकता हेरेर १ सय वटासम्म पुग्छ हाेला’ सिभिलखबरसंगकाे कुराकानीमा एमाले गोरखाका अध्यक्ष प्रेम बहादुर गुरुङ्गले भने ।
एमालेले चुमनुब्री गाउँपालिका बाहेक सबै पालिकामा बस पठाउने तयारी गरेकाे छ । ‘ राेडकाे एक्सेस भएकाे सबै वडामा वस पुग्ने भनेर याेजना बनाएका छाै, कुनै वडामा एउटा र कुनै वडामा ४ वटासम्म बस बुक भएकाे छ’ अध्यक्ष गुरुङ्गले भने ।


एक सय वटा बससंगै करिब २ सय वटा माेटर साइकल र १५ वटा कार लगायतका साना सवारी समेत गोरखाबाट चितवन जाने तयारीमा रहेकाे बताइएकाे छ ।
गुरुङ्गका अनुसार गोरखाबाट ५ हजारभन्दा बढि नेता, कार्यकर्ता चितवन जानेछन् । जिल्लाका बिभिन्न गाउँपालिकाबाट आएका कार्यकर्ता सदरमुकाम आसपास क्षेत्रमा भेला भएर एकै पटक चितवन पुग्ने याेजना रहेकाे समेत उनले बताए ।
