
काठमाण्डाै । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने भएका छन् । मंगलबार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै सिवाकाेटीले केन्द्रिय सदस्यमा उम्मेदवारी घाेषणा गरेका हुन ।
लामाे समय पत्रकारिता पेशामा आवद्ध रहेका उनी अबकाे यात्रा राजनीति भएकाे बताएका छन् । हाम्रा कुरा डटकमका प्रधान सम्पादक समेत रहेका शिवाकाेटीले पत्रकारितासंग जाेडिने सबै पद त्यागेर काँग्रेसकाे राजनितीमा लागेकाे समेत बताए ।
आगामी दिनमा मिडिया उद्यमीको रूपमा मात्रै आफु रहने बताउदै उनले प्रेस युनियनमा समेत आफ्नाे संलग्नता नरहने उद्घाेष गरेका छन् । ‘अब मिडिया उद्यमीका रूपमा रहन्छु। प्रेस युनियनमा फर्केर आउँदिनँ,’ उनले भने।
आफुले हाम्रा कुरा डटकमकाे सम्पादकीय नेतृत्वबाट समेत पछि हटिसकेकाे बताउदै उनले देशभरका महाधिवेशन प्रतिनिधीहरुलाई आफ्नाे पक्षमा मतदान गर्न समेत अपिल गरेका छन् ।
आफुलाई सम्पूर्ण समुहकाे साथ र समर्थन रहेकाे दावी गर्दै शिवाकाेटीले पत्रकारिता पेशाकाे अनुभव र ज्ञान अब पार्टीमा याेगदान दिने समेत बताएका छन् । उनि दाेलखाबाट अत्याधिक मतका साथ महाधिवेशन प्रतिनिधीमा विजयी भएका थिए ।