
गण्डकी प्रदेशको प्रमुख सचिव फेरिएका छन् । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका सचिव रविलाल पन्थलाई गण्डकी प्रदेश प्रमुख सचिवको जिम्मेवारी दिएको छ । पन्थले बुधबारै पदभार ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा रहेका डा. दामोदर रेग्मीको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ । एक साताअघि बसेको मन्त्रिपरिषद् बैठकले सरुवा र पदस्थापन गर्ने निर्णय गरे पनि उक्त निर्णय सार्वजनिक भएको थिएन । मंगलबार गण्डकी प्रदेशका प्रमुख सचिवलाई डा. रेग्मीको गण्डकी प्रदेश सरकारले औपचारिक विदाई गरेपछि उक्त निर्णय भएको सार्वजनिक भएको हो ।
गत असारमा बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई सहसचिवबाट सचिवमा बढुवा गरेर गण्डकी प्रदेशमा पदस्थापन गरेको थियो । गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएका सचिव पन्थ एक महिनाअघि नै सहसचिवबाट सचिवमा बढुवा भएका थिए । तर उनलाई सरकारले पदस्थापन गर्न ढिला गर्दै आएको थियो । पन्थ बुधबार नै प्रदेशमा हाजिर भएका छन् ।