
गोरखा । समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले गोरखाको उत्तरी क्षेत्रलाई अर्कै जिल्ला बनाउने गरी अभियान चलाउन स्थानीयलाई आग्रह गरेका छन्।
पार्टीकाे संगठन सुदृढिकरण (सुज) अभियान लिएर उत्तरी गोरखा पुगेका अध्यक्ष भट्टराईले संविधानले नै विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर उल्लेख गरेकाले यो सम्भव रहेको पनि बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले अभियान अन्तरगत भ्रमणका क्रममा त्यसक्षेत्रका स्थानीयसँग छलफल तथा भेटघाट गर्दै घरघर पुगिरहेका छन् ।
स्थानीयसँग उनले भने, ‘उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन अभियान चलाउनुपर्छ । संविधानमा विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर लेखिएको छ । अर्को जिल्ला, विशेष वा स्वायत्त क्षेत्र जे बनाउँदा पनि हुन्छ । जनताले बुझ्ने भनेको जिल्ला हो।’
भट्टराईले आफ्नो सक्दा आफ्नो हातमा नभएसम्म र जनप्रतिनिधि आफैंले नचुनेसम्म जति चिच्याएपनि बिकास हुन नसक्ने जिकिर गरे ।
भट्टराई गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सासंदसमेत हुन । उनले उत्तरी भेगका धार्चे, चुमनुव्री गाउँपालिका र बारपाक क्षेत्रलाई समेटेर अर्को जिल्ला बनाउन सकिने बताएका हुन । यसका लागि अन्य दलहरुले पनि साथ दिनुपर्ने उनकाे तर्क छ ।
गोरखाको उत्तरी भेग भाैगाेलिक हिसाबमा निकै विकट रहेको छ । त्यहाँका स्थानीयहरुलाई सदरमुकाम धाउन र विभिन्न प्रशासनिक कार्यका लागि निकै झन्झट हुने गरेको छ ।
तस्विर: डा. बाबुराम भट्टराईकाे सचिवालय