• बिहिबार, साउन १४ २०८३

गोरखाबाट एमालेले छान्यो १५ जना महाधिवेशन प्रतिनिधी (नामसहित)


शनिबार, कार्तिक २७ २०७८
1K
Shares

गोरखा । नेकपा एमाले गोरखाले १० औं महाधिवेशनका लागि प्रतिनिधी छनौट गरेको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि एमाले गोरखाले सर्वसम्मत प्रतिनिधी छनौट गरेको हो ।

दुई संघिय निर्वाचन क्षेत्र रहेको गोरखाबाट १५ जना महाधिवेशन प्रतिनिधी छनौट भएको एमाले गोरखाले जनाएको छ । जसमा क्षेत्र नम्बर एक बाट ८ जना, दुईबाट ६ जना र एक जना दलित तर्फबाट गरी १५ जना प्रतिनिधी छानिएको बताइएको छ ।

४ हजार ५ सय ९२ संगठित सदस्य रहेको गोरखा क्षेत्र नम्बर १ बाट खुल्ला तर्फबाट सुरेन्द्र बहादुर थापा, गोपाल पाण्डे, कृष्ण बहादुर नेपाली, सुरेशबाबु श्रेष्ठ, मोहन प्रसाद भट्टराई र विशाल थापा रहेको निर्वाचन अधिकृत रमेश अधिकारीले जानकारी दिए ।

त्यस्तै महिला तर्फबाट सम्झना देवकोटा र मिना बरामु प्रतिनिधी बनेका छन् । यसैगरी ३ हजार ५८ जना संगठित सदस्य रहेको क्षेत्र नम्बर २ को खुल्ला तर्फबाट प्रेम बहादुर गुरुङ, बाबुराम थापा, हरि प्रसाद काफ्ले र कमल दानी क्षेत्री महाधिवेशन प्रतिनिधी चयन भएका छन् भने सोही क्षेत्रबाट महिला तर्फ पार्वतीदेवी पाठक र रुपा पन्त सर्वसम्मत प्रतिनिधी छनौट भए ।

यसैगरी उत्पीडित तथा दलित तर्फबाट काजीराम रोका प्रतिनिधी बनेका छन् ।

सर्वसम्मत महाधिवेशन प्रतिनिधी चयन भएका १५ जनालाई शनिबार एक कार्यक्रमका बिच प्रमाणपत्र प्रदान गरिएको छ । उनिहरुलाई पार्टीका केन्द्रिय सदस्य रामशरण बस्नेतले प्रमाणपत्र वितरण गरेका थिए ।

साथै सोही अवसरमा एमालेले पत्रकार सम्मेलन गर्दै जिल्लाका चुमनुब्री गाउँपालिकाका ७ वटा वडा बाहेक अन्य १० स्थानीय तहका ८७ वडामा अधिवेशन सम्पन्न गरेको जानकारी दिएको छ । भौगोलिक विकटताका कारण चुमनुब्रीमा अधिवेशन हुन नसकेको र महाधिवेशन अघि सम्पन्न गर्ने लक्ष्य राखिएको एमाले गोरखाका इन्चार्ज समेत रहेका बस्नेतले बताए ।

साथै उनले लोकतन्त्रको पूर्ण अभ्यास गर्दै सबै तहमा सर्वसम्मत रुपमा अधिवेशन सकिएको समेत जानकारी दिए । एमाले गोरखाका जिल्ला अध्यक्ष प्रेम बहादुर गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेशका पूर्वमन्त्री समेत रहेका बस्नेतले एमाले नेतृत्वको सरकारले राम्रो काम गरेका कारण ढलेको दावी गरेका छन् ।

‘यहाँ राम्रो काम गर्नेको खुट्टा तान्ने प्रवृत्ती नयाँ होइन, हाम्रो नेतृत्वको सरकारमा समेत त्यहि भएको हो’ उनले थपे ‘अहिलेको नयाँ यो गठबन्धन स्वार्थमा केन्द्रित छ, धेरै टिक्दैन ।’

साथै उनले नेकपा एमाले विभाजनको असर गोरखामा १ प्रतिशत भन्दा बढी नपरेको समेत दावी गरेका छन् । आगामी १० गते चितवनमा हुने महाधिवेशनको उद्घाटन कार्यक्रममा गोरखाबाट ५ हजार कार्यकर्ता लैजाने गरी पार्टीले तयारी गरेको एमाले गोरखाका सचिव कृष्ण बहादुर नेपालीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार