• बिहिबार, साउन १४ २०८३

एमसीसीबारे प्रचण्डको स्पष्टीकरणपछि यस्ताे आयाे बाबुरामको टिप्पणी


शनिबार, कार्तिक २० २०७८
630
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले भनेजस्तो आफूहरूले अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्छाैं भनेर पत्र पठाएको हाेइन भनेपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई टिप्पणी गरेका छन्। 

बेलायत भ्रमण सकेर स्वदेश आएका दिन बिहीबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा पत्रकारहरूको जिज्ञासामा प्रधानमन्त्री देउवाले ‘एमसीसी पास गर्छाैं भनेर आफू र प्रचण्डले पत्र पठाइसकेको’ बताएका थिए।

यसबारे व्यापक प्रश्न उठेपछि सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज शुक्रबार ‘एमसीसी पास गर्छाैं’ भनेर नभई यसका लागि ‘राष्ट्रिय सहमति जुटाउँछौं’ भन्ने बेहोराको पत्र पठाएको स्पष्टीकरण दिएका हुन्। 

‘शेरबहादुरजीले हामीले सहमति जनाएर चिठी पठाइसक्यौँ भनिदिनुभएछ, त्यसले तरंग पैदा भएछ। साथीहरुलाई जवाफ दिनुपरेको छ’, शुक्रबार खुमलटारस्थित आफ्नो निवासमा देउसी खेल्न पुगेका कलाकर्मी र सञ्चारकर्मीसँग प्रचण्डले भने, ‘हामी दुई जनाले एमसीसी पास गर्न राष्ट्रिय रूपमा सहमति गर्छौँ भनेर चिठी पठाएका हौँ, पास गर्न तयार छौ भनेका छैनौँ।’ 

पछि प्रधानमन्त्री देउवाले पनि ‘मैले त्यस्तो कहाँ भनेको छु र’ भनेको प्रचण्डले बताएका छन्। 

यसलगत्तै अर्का सत्ता साझेदार दल जसपाका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका हुन्। 

‘जिम्मेवार राजनीतिक नेतृत्वले  ‘माछा देखे भित्र हात, सर्प देखे बाहिर हात’ गर्दैन’, डा. भट्टराईले लेखेका छन्, ‘मुख्य कुरो कुनै पनि विषय देश र जनताको हितमा छ कि छैन भन्ने हो। यदि छ भने राजनेताले जोखिम मोलेर पनि त्यो कार्य गर्छ र जनतालाई सम्झाउँछ। चुनावी राजनीति मात्र गर्नेले कुरा चपाउँछ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार