रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आइतवार अपरान्ह झडप हुँदा चार जनाको मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये तीनको सनाखत हुन सकेको छैन। एकजनाको सनाखत भएको शिक्षण अस्पताल (युसिएमएस) का जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए।
उनका अनुसार मृत्यु हुनेमा कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का करिब ४८ वर्षीय रमेश परियार रहेका छन्।
उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अन्य तीनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको गुरुङले बताए।
मृत्यु भएकाहरु सबै सर्वसाधारण हुन् । अस्पतालमा अन्य पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ।
प्रहरीले त्यहाँका अस्थायी टहराहरूसमेत भत्काएको छ। झडपमा कैयौँ घाइते भएका छन्।
औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो।
अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको हो।