गोरखा । तिब्बत नाका खुलाउन उत्तरी गोरखाका स्थानीयले माग गरेका छन् । चुमनुब्रीबासीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उनहरुले कोभिडका कारण दुई वर्ष देखि बन्द रहेको उत्तरी गोरखा तिब्बती नाका खुलाउन अनुरोध गरेका हुन् ।
गोरखा सदरमुकाममा आएका उनीहरुले सोमबार प्रजिअ शंकरहरि आचार्यसँगको भेटमा उत्तरी गोरखा तिब्बती नाका खुलाउन सम्बन्धित निकायमा पहल गरिदिन आग्रह समेतगरेका थिए । विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीका कारण उत्तरी गोरखा तिब्बती दुई नाका २ वर्ष देखि बन्द रहेको छ ।
उत्तरी क्षेत्रको नाका बन्द हुनु र लगातारको बाढी पहिरोका कारण ठाउँ ठाउँ बाटो अवरुद्ध हुदा चुमनुब्रीबासीलाई खाद्यान्न लगायतका उपभोग्य बस्तुहरुको ओसारपोसार गर्न समस्या परेको गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङले बताए ।
‘चुमनुब्री गाउँपालिकाको चुम भ्याली हुँदै जाने छेकम्पारको ङ्गईला भज्याङ नाका र चुमनुब्री गाउँपालिका वडा न १ सामागाउँ स्थित रुईला नाका विगत २ वर्ष देखि कोभिड- ९ का कारण बन्द छ । दुवै नाका नै बन्द हुदा स्थानीयहरु खाद्यान्न सामाग्री ल्याएन पाएका छैनन्,’ उनले भने ।
उत्तरी गोरखामा अहिलेसम्म सडक सञ्जाल पुगेको छ । त्यहाँका सर्वसाधरणले खच्चडबाट ढुवानी भएको खाद्यन्न मंहगोमा किनेर खानुपर्ने बाध्यता छ । यति उक्त नाका सञ्चालनमा आएमा दैनिक उपभोग्य सामाग्री उताबाट पनि ल्याउन सकिने स्थानीयहरुले बताइका छन् ।
उत्तरी गोरखामा उत्पादित खाद्यन्नले वर्षमा ३ महिना पनि खान पुग्दैन । पदमार्ग अबरुद्ध हुँदा नेपाल सरकारको अनुदान प्राप्त चामल पनि समयमा ढुवानी हुन सक्दैन । उक्त क्षेत्रमा खाद्यन्न अभाव भएपछि केही दिन अघि हेलिकप्टर मार्फत ढुवानी गरिएको थियो ।
केही दिन अघि उत्तरी गोरखा पुगेका गृहमन्त्री बालकृष्ण खाँडले समेत उक्त क्षेत्रमा खाद्यन्न ढुवानी गरिदिने त्यहाँको समस्या समाधानका लागि पहल गर्ने बताएका थिए । खाद्यन्न ढुवानी भएपनि अन्य काम नगरेको उनीहरुको भनाई छ ।