गोरखा । गोरखामा कांग्रेसले जिल्ला अधिवेशन सम्पन्न गरेकाे छ । साेमबारदेखि सुरु भएकाे अधिवेशन अन्तरगत मंगलबार कार्यसमितीका पदाधिकारी सहित सदस्यहरुका लागि मतदान भएकाे छ ।
सभापतिमा नन्द प्रसाद न्याैपाने सर्वसम्मत भएपनि उपसभापतिसहित सचिव, सहसचिव र कार्यसमिती सदस्यका लागि आज मतदान भएकाे थियाे ।
जसमा कुल मतदाताकाे संख्यामा जिल्लाकाे नेतृत्व चयनका लागि भएकाे मतदानमा ८७ प्रतिशत मत खसेकाे निर्वाचन समितिले जनाएकाे छ । जिल्लाका ११ वटै स्थानीय तहमा गरी गोरखामा १ हजार ७ सय ५२ क्षेत्रिय प्रतिनिधीले मतदानमा भाग लिन पाउने भएपनि मंगलबार भएकाे निर्वाचन प्रकृयामा १ हजार ५ सय १९ मात्रै भाेट खसेकाे समितीका शिव थापाले सिभिलखबरलाई जानकारी दिए ।

हरमटारी स्थित खेलकुद मैदानकाे कवर्ड हलमा मतदान भएपनि मतगणना भने तिनधारेमा रहेकाे काँग्रेस पार्टी कार्यालयमा नै गर्ने तयारी भएकाे उनकाे भनाइ छ । हाल मतपेटिका सिल गरी पार्टी कार्यालयमा पुर्याइएकाे र ९ बजेपछि मतगणना सुरु हुने बताइएकाे छ ।
आज सम्पन्न निर्वाचन प्रकृयामा उप सभापतिमा पाँच जना, सचिवमा पाँच जना, सह सचिवमा आठ जनाको उम्मेदवारले भाग लिएका थीए । त्यस्तै कार्यसमिती सदस्यका लागि समेत मतदान भएकाे बताइएकाे छ ।
मतगणना ९ बजेपछि सुरु भएपनि मतपरिणामकाे अन्तिम नतिजा भने भाेली मात्रै आउने सम्भावना रहेकाे निर्वाचन समितीले जनाएकाे छ ।