
गोरखा । गोरखाको दुई निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ बाट अत्याधिक मत ल्याएर महाधिवेशन प्रतिनिधीमा विजयी भएका नन्द प्रसाद न्यौपाने नेपाली काँग्रेसको जिल्ला सभापतिको उम्मेदवार बन्ने भएका छन् ।
शनिबार भएको क्षेत्रिय अधिवेशनबाट लोकप्रिय मतका साथ विजयी बनेका न्यौपानेले भोली सोमबारदेखि सुरु हुने १४ औं जिल्ला अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका हुन् । क्षेत्र नम्बर एकमा खसेको मतको ८५ प्रतिशत भन्दा बढी मत उनलाई गएको निर्वाचन समितिले जनाएको छ । जसमा जम्मा १ हजार २७ मत खसेकोमा उनले मात्रै ८ सय ८० मत प्राप्त गरेका थिए ।


अनौपचारिक रुपमा दुई बर्षअघिदेखि नै १४ औं अधिवेशनमा जिल्ला सभापति पदमा उम्मेदवारी दिने उनले तयारी गरेका थिए । दुई क्षेत्रमा गरी करिब १ हजार ७ सय ५० मतदाता रहेको गोरखामा उनले एकै क्षेत्रबाट मात्रै ८ सय ८० मत ल्याएका छन् ।
सभापतिका उम्मेदवारलाई दुवै क्षेत्रका मतदाताले भोट दिन पाउनेछन् । महाधिवेशन प्रतिनिधी पदमा न्यौपानेले प्राप्त गरेको मतलाई हेर्दा उनि सभापतिमा समेत सबैभन्दा बलिया उम्मेदवार रहेको काँग्रेसका कतिपय नेता कार्यकर्ता बताउछन् ।
नेपाल बिधार्थी संघबाट राजनीति सुरु गरेका उनि पार्टीकाे हाल जिल्ला सचिव समेत छन् । कोभिड १९ को महामारी र लकडाउनको समयमा समेत स्वास्थय जोखिम मोलेर जिल्लाभर भ्रमण गर्दै स्वास्थ्य सामाग्रीसहित राहत वितरणमा सकृय बनेका न्यौपाने पछि आफै समेत कोभिड १९ बाट संक्रमित बनेका थिए ।

स्पष्ट वक्ताका रुपमा छवि बनाएका उनि बाहेक हालसम्म जिल्लामा कसैले पनि सभापति पदमा उम्मेदवारी घोषणा नगरेकाले न्यौपाने सर्वसम्मत हुने आँकलन पनि कतिपयको छ । वडा, पालिका, प्रदेश सभा र क्षेत्रको अधिवेशन सम्पन्न गरेको नेपाली काँग्रेसको भोली सोमबारदेखि जिल्ला अधिवेशन सुरु हुदैछ । भोली उद्घाटन कार्यक्रम र मंगलबार निर्वाचनको कार्यतालिका रहेको काँग्रेसले जनाएकाे छ ।
हाल ११ वटै पालिकाका क्षेत्रिय प्रतिनिधीसहित करिब २५ सय नेता, कार्यकर्ता क्षेत्र र जिल्ला अधिवेशनका लागि सदरमुकाम छन् ।

