गोरखा । १४ औं महाधिवेशन अन्तरगत नेपाली काँग्रेस गोरखाले प्रतिनिधी सभा क्षेत्र तहसम्मको अधिवेशन सम्पन्न भएको छ । वडा, नगर, प्रदेश सभा हुदै शुक्रबारबाट क्षेत्रिय अधिवेशन सुरु गरेको गोरखा काँग्रेसको शनिबार बेलुका मतदान सकिएको हो । दुवै निर्वाचन क्षेत्रमा सभापति र दुई सचिव सर्वसम्मत भएपनि अन्य पदाधिकारी र महाधिवेशन प्रतिनिधी पदमा भने निर्वाचन भएको थियो ।
अधिवेशन अन्तरगत शनिवार ५० जना महाधिवेशन प्रतिनिधिका लागि एक सय १९ जना बिच प्रतिष्प्रर्धा भएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा २५ जनाका लागि ५८ जना र २ मा २५ जनाका लागि ६१ जनाको उमेद्ववारी परेको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।
जसमा शनिबार बिहान ८ बजेदेखि मतदान सुरु भएको र साँझ करिब साढे ६ बजे मात्रै दुवै क्षेत्रमा मतदान सकिएको निर्वाचन समितीले जनाएको छ । क्षेत्र नम्बर १ मा १ हजार ४३ मतदाता रहेपनि १ हजार २७ मत मात्रै खसेको बताइएको छ भने २ मा ६ सय ९९ मतदाता रहेकोमा ६ सय ९४ मत खसकेको समितिले जनाएको छ ।
करिब ४ बजे नै मतदान सकेको क्षेत्र नम्बर १ ले साँझ ८ बजेबाट मतगणना सुरु गरेको थियो । जसमा यो समाचार तयार पार्दा राती १२ बजेसम्म महाधिवेशन प्रतिनिधीको खुल्ला १० तर्फको २ सय ५० मत गणना सकिएको छ ।
जसमा हालसम्मको नतिजा हेर्दा नन्द प्रसाद न्यौपानेले अग्रता लिएका छन् । २ सय ५० मत गन्दा न्यौपानेले २ सय ८ मत प्राप्त गरेका छन् । त्यस्तै राजेन्द्र बजगाँईले १ सय ७७ मत ल्याएका छन् भने धिरन थापाले १ सय ६८, राजनराज पन्तले १ सय ५७, देवेन्द्र वाग्लेले १ सय ५६, प्रेम कुमार खत्रीले १ सय ३३ मत प्राप्त गरेका छन् ।
यसैगरी हालसम्म पूर्ण दाहालले १ सय २५, किरणबाबु श्रेष्ठले १ सय २३, इश्वर पाण्डेले १ सय १२ र ठाकुर प्रसाद पुडासैनीले ९८ मत प्राप्त गरेको निर्वाचन अधिकृत लक्ष्मणबाबु आचार्यले जानकारी दिए ।
महाधिवेशन प्रतिनिधीको खुला १० तर्फको २ सय ५० मत गणनालाई स्थगित गरेर हाल समावेशी तर्फको मत गणना भइरहेको बताइएको छ । निर्वाचन समेत पार्टी कार्यालय तिनधारेमा गरेको क्षेत्र नम्बर १ को हाल मतगणना समेत सोही स्थानमा भइरहेको छ ।
यता क्षेत्र नम्बर दुईको भने निर्वाचन हरमटारी स्थित निर्मााण ब्यवसायी संघको भवनमा भएको थियो । ब्यवस्थापन अत्यन्त फितलो रहेको क्षेत्र नम्बर दुईको मतगणना समेत सोही भवनमा भइरहेको छ । क्षेत्र नम्बर १ को दाँजोमा ३ सय ४४ मतदाता कम रहेपनि मतदान प्रकृया साढे ६ बजेसम्मपनि सकिएको थिएन । ७ बजे नै मतगणना सुरु गर्ने भनिएपनि मतगणना समेत बेलुका ९ बजेपछि मात्रै सुरु भएको बताइएको छ ।
त्यस्तै क्षेत्र नम्बर १ को मतगणना स्थलमा सञ्चारकर्मीलाई परिचयपत्रका आधारमा सहज प्रवेश दिइएपनि २ को मतगणना स्थलमा भने सञ्चारकर्मीलाई प्रवेश समेत दिइएकाे छैन । रिपोर्टिङका लागि गणनास्थलमा पुगेका केहि सञ्चारकर्मीलाई प्रहरी र निर्वाचन समितीका सदस्यले गेटबाटै फर्काएका थिए । सो क्षेत्रको हालसम्म कति मतगणना भयो भन्ने सूचना समेत सार्वजानिक गरिएको छैन । सूचना सार्वजानिक नहुदा साे क्षेत्रका मतदाता र काँग्रेस नेता कार्यकर्ताले असन्तुष्टी पाेखेका छन् ।