गोरखा । नेपाली कांग्रेसको संघिय निर्वाचन क्षेत्र अधिवेशन आजबाट सुरु भइरहदा आकांक्षीहरु निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । वडा, गाउँ/नगर, प्रदेश क्षेत्रको अधिवेशन सम्पन्न गरेकाे नेपाली काँग्रेसमा क्षेत्रिय अधिवेशनका लागि जिल्लामा चहलपहल बढेकाे छ ।
२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको गोरखामा आंकाक्षीहरुले धमाधम उम्मेवारी घोषणा गरेका छन् । गोरखा क्षेत्र नम्बर १ को सभापतिमा हालका जिल्ला सहसचिव नारायण लामिछाने र ईश्वर अधिकारीको नाम चर्चामा छ ।
तरुण दलका पूर्व उपसभापति, क्षेत्रिय कार्यसमिति सचिव, कार्यबाहक क्षेत्रिय सभापति, जिल्ला सदस्य हुँदै हाल जिल्ला सहसचिव पदमा कार्यरत लामिछानेले आगामी निर्वाचनमा पार्टीलाई जिताउन आफू नेतृत्वमा आउन चाहेको बताएका छन् ।
‘आगामी स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टी जिताउन, पार्टी संगठनलाई अत्यान्त बलियो बताउन मैले क्षेत्रिय सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको हुँ,’ उनले भने ।
अधिकारी पनि पूर्व क्षेत्रिय सभापति हुन् । नयाँ संरचना अन्र्तगतको प्रतिनिधि सभा क्षेत्रमा काम गर्ने इच्छाले उम्मेदवारी दिएको उनले बताए । सबै जना महाधिवेशन प्रतिनिधि मात्र भन्ने हो भने पार्टीको विभिन्न समिति बसेर काम गर्न कसले ? त्यसैले मैले पनि उम्मेदवारी दिएको हुँ ।’
उक्त क्षेत्रको सचिवमा युवा नेता शरण श्रेष्ठ, रोशन गुरुङ, नवराज लामिछाने, रमेश बञ्जरा र हेमराज घिमिरेले सचिवमा उम्मेदवारी दिने बताएका छन । श्रेष्ठ नेविसघंका पूर्व जिल्ला सचिव, क्षेत्रिय सदस्य र शहिद लखन गाउँपालिकाका वडा नम्बर ७ का अध्यक्ष हुन । गुरुङ क्षेत्र नम्बर २ को प्रदेश (ख) का सभापति, बञ्जरा, लामिछाने नेबिसघं र घिमिरे तरुणमा सक्रिय सदस्य हुन ।
क्षेत्र नम्बर २ मा हालका सभापति गोबिन्द गुरुङ र कोषाध्यक्ष जीवन बानियाँले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्रिय सचिव हुँदै सभापति समेत भइसकेका उनले पुनः क्षेत्रिय सभापतिको आकांक्षा देखाएका हुन ।
‘मैले यस अघिको विषम परिस्थितीमा पनि क्षेत्रको सचिव हुँदै सभापतिसम्मको नेतृत्व गरेँ,’ सभापतिका उम्मेदवार गुरुङले भने, ‘सो क्षेत्रमा थालनी भएका धेरै राम्रा कामहरु पुरा गर्नुपर्ने छ । त्यसको लागि मैले पुनः नेतृत्व गर्नुपर्ने आवश्यक नेता कार्यकर्ताहरुले गर्नु भयो र अनि फेरी सभापतिको उम्मेदवार बनेको हुँ ।’
यसैगरी बानियाँले पनि कांग्रेसमा युवाहरुको नेतृत्व स्थापित गर्न सभापतिमा उम्मेदवारी दिएको तर्क गरेका छन् । संगठनलाई बलियो बनाएर आगामी निर्वाचनमा थप सशक्त बनाउने उनको योजना छ । ‘कांग्रेस सिमित व्यक्ति र समूहको स्वार्थका कारण बिग्रिएरको छ । यसलाई सशक्त बनाएर आगामी निर्वाचनमा सबै ठाउँमा जिताउनुपर्छ,’ उनले भने ।
उक्त क्षेत्रको सचिवमा नेबिसंघका पूर्व जिल्ला अध्यक्ष रुपबहादुर गुरुङ, पालुङटारका पूर्व नगर सचिव सरोज देवकोटा लगायतको नाम चर्चामा छ । क्षेत्र नम्बर १ को पार्टी कार्यालय र २ को निर्माण व्यवसायी संघको हलमा हुने अधिवेशनको आज शुक्रबार उद्घाटन कार्यक्रम गर्ने कार्यक्रम तय भएको जिल्ला निर्वाचन अधिकृत देवबहादुर महतले बताए । मतदान भने भाेली शनिबार १६ गते बिहान ८ बजेबाट सुरु हुने बताइएको छ ।