गोरखा । नेपाली कांग्रेस गोरखाको क्षेत्रिय अधिवेशन आजबाट सुरु हुँदैछ । दुई वटा निर्वाचन क्षेत्र रहेको गोरखामा शुक्रबार छुट्टाछुट्टै रुपमा अधिवेशन सुरु हुनेछ । क्षेत्र नम्बर १ अधिवेशन पार्टी कार्यालय तिनधारे र २ को निर्माण व्यवसायी सघंको हलमा हुने बताइएको छ ।
अधिवेशनको सबै तयारी सकिएको जिल्ला निर्वाचन अधिकृत देवबहादुर महतले जानकारी दिए । ‘हामीले आवश्यक सबै तयारी सम्पन्न गरेका छौं, सबैको सहमतीमा कार्यतालिका पनि निर्माण गरिएको छ’ उनले भने, ‘निकै सोर्हाद रुपमा तोकिएकै समय भित्र अधिवेशन सम्पन्न हुने हामीले अपेक्षा लिएका छौं ।’
अधिवेशनलाई व्यवस्थित एवं मर्यादित बनाउन प्रमाणपत्र अनिवार्य गर्ने निर्णय निर्वाचन समितिले गरेको छ । सोही अनुरुप अब हुने क्षेत्र र जिल्ला अधिवेशनमा सहभागी मतदातले क्षेत्रिय प्रतिनिधि प्रमाणपत्र र नागरिकता वा निर्वाचन आयोगले जारी गरेको फोटो सहितको मतदाता परिचयपत्र अनिवार्य रुपमा ल्याउनु पर्ने व्यवस्था गरिएको उनले बताए ।
‘स्थानीय तह र प्रदेश क्षेत्र सम्म आउँदा मतदाता पनि थोरै हुनु हुन्थ्यो, सबैले सबैलाई सजिलै चिन्ने भएकाले त्यहाँ प्रमाणपत्र अनिवार्य थिएन,’ उनले भने, ‘अब त मतदाता पनि धेरै हुनुहुन्छ । एकले अर्कोलाई नचिनेर विवाद पनि हुन सक्छ । त्यसैले अधिवेशनबाट प्राप्त भएको प्रमाणपत्र र सरकारी परिचयपत्र अनिवार्य गरेका हौं ।’
यसले गर्दा अनावश्यक विवाद नआउने निर्वाचन समितिको विश्वास छ । क्षेत्रिय अधिवेशन अन्र्तगत आज उद्घाटन सत्र हुनेछ । क्षेत्रिय कार्यसमितिको लागि उम्मेदवारी दर्ता र महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दर्ता पनि आज नै हुनेछ । मतदान भने शनिवार बिहान ८ बजेबाट सुरु हुने बताइएको छ ।
क्षेत्रिय अधिवेशन सकिए लगतै जिल्ला अधिवेशनको कार्यक्रम सुरु हुने बताएको छ । जिल्ला अधिवेशन अशोज १८ गते पार्टी कार्यालय तिन धारे गोरखामा गर्ने निर्णय भइसकेको छ । झण्डै १ हजार ८०० क्षेत्रिय प्रतिनिधि उक्त अधिवेशनमा सहभागी हुने हुनेछ । गाउँ, नगर र प्रदेश क्षेत्रको अधिवेशन सम्पन्न गरेका कांग्रेस नेता कार्यकताहरु अहिले सदरमुकाममा आउने क्रम जारी छ ।