
गोरखा । नेपाली कांग्रेसको ११ वटै स्थानीय तह अधिवेशन सकिएको छ । २ नगरपालिका र ९ गाउँपालिका रहेको यहाँ ६ वटामा सर्वसहमती भएको हो भने ५ वटामा निर्वाचन भएको नेपाली कांग्रेस गोरखाले जनाएको छ । चुमनुब्री, धार्चे, शहिद लखन, गण्डकी, अजिरकोट र आरुघाट गाउँपालिकामा सर्वसहमती भएको हो । गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, सिरानचोक, बारपाक सुलिकोट र भीमसेन थापा गाउँपलिकामा भने मुख्य पदका लागि निर्वाचन भएको थियाे ।


गोरखा नगर सभापतिमा पुनः खत्री विजयी
गोरखा नगरपालिकाको सभापतिमा पुनः चन्दनबाबु खत्री चयन भएका छन् । शनिवार भएको निर्वाचनमा उनले प्रत्यासी डिलबहादुर थापा मगरलाई पराजित गर्दै बिजयी भएका हुन् । २ सय ६९ मतदाता रहेको गोरखा नगरपालिकामा २ सय ६३ भोट खसेको थियो जसमा खत्रीले १ सय ५१ मत ल्याएका छन् ।
थापा मगरको पक्षमा भने १०७ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ । उपसभापतिमा भने विश्वेश्वर श्रेष्ठ र मित्राकुमारी परियार निर्वाचित भएका छन् । श्रेष्ठले १७८ र परियार १४० मत प्राप्त गरेका हुन् । १२७ मत ल्याएका ढलकबहादुर अधिकारी भने पराजित भएका छन् ।

सचिवमा सर्वाधिक १९२ मत साबित्रा थापा मगर बिजयी भएको निर्वाचन समितिले जनाएको छ । दुई सचिवका लागि भएको चुनावबाट ११७ मतका साथ दिपेन्द्र श्रेष्ठ समेत निर्वाचित भएका छन् । उनिहरुले प्रतिद्धन्ती ताराबहादुर खड्का र राजकुमार श्रेष्ठलाई पराजित गरेका हुन ।
खड्काले ११५ र श्रेष्ठले ४३ मत प्राप्त गरेको समितिले जानाएको छ । त्यस्तै नगरसमितिको सहसचिवहरुमा विष्णु थापा मगर र खिलबहादुर कुवँर सर्वसम्मत भएका छन् भने कोषाध्यक्ष नगरसमितिले पछि मनोनित गर्ने प्रावधान छ । त्यस्तै सदस्यहरु समेत निर्विरोध चयन भएको बताइएको छ ।

पालुङटार नगर सभापतिमा ढकाल बिजयी
पालुङटार नगरपालिकाको सभापतिमा बिमल ढकाल बिजयी भएका छन् । शनिवार भएको नगर अधिवेशनमा अर्का प्रत्यासी अमर धिताललाई पराजित गर्दै ढकाल बिजयी भएका हुन । ढकालले १२३ मत प्राप्त गर्दा धितालको पक्षमा ५३ भोट मात्र खसेको थियो ।
त्यस्तै सर्वाधिक १४१ मतका साथ सचिवमा किरण गिरी विजयी भएका छन् । उनले उम्मेदवार भएकामध्ये सबैभन्दा बढि मत ल्याउन सफल भएका छन् । त्यस्तैगरी ८६ मत ल्याएर सचिवमै मानबहादुर पाण्डे बिजयी भएका छन् । सचिवको दुई पदका लागि ४ जनाको उम्मेदवारी परेको थियो ।


रमेश पोखरेलले ५६ र पवन अधिकारीले ४६ मत ल्याएर पराजित भएको निर्वाचन अधिकृत केशरसिंह बस्नेतले जानकारी दिए । अन्य पदमा भने त्यहाँ सहमती भएको थियो । जसअनुसार उपसभापतीमा सीताकुमारी अधिकारी, हरिप्रसाद भट्टराई, सहसचिवमा कुमार श्रेष्ठ र सुनिता थापा मगर चयन भएका छन् ।
सिरानचोकमा भक्तबहादुर निर्वाचित
सिरानचोक गाउँपालिकामा भने भक्तबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले ज्ञानेन्द्र गुरुङलाई ६ मतले पराजित गरेका हुन् । १३० मत खसेकोमा भक्तले ६८ र ज्ञानेन्द्रले ६२ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।
अन्य पदमा भने सर्वसहमती भएको हो । जसअनुसार उपसभापति सुकमान गुरुङ, सरोज ढकाल, सचिवमा जगदिश ढकाल, बलबहादुर मल्ल, सहसचिवमा छबिलाल श्रेष्ठ र परशुराम पोखरेल चयन भएका छन् ।

भीमसेनमा भट्टराई बिजयी
भीमसेन थापा गाउँ कार्यसमितिको सभापतिमा नारायण भट्टराई निर्वाचित भएका छन् । कूल सदर मतमध्ये १०९ मत प्राप्त गरी भट्टराई विजयी भएका हुन् । अर्का उम्मेदवार विदेश नराल(लक्ष्मण) ले ५२ मत प्राप्त गरेका थिए ।
गाउँ कार्यसमितिको उपसभापतिहरुमा नवराज अधिकारले १०९ र कृष्ण ढकालले १०४ मत ल्याएर विजयी भएका छन् । सचिवहरुमा टलक गुरुङले ११४ र जीवनाथ पुडासैनीले ९२ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।
बारपाक सुलिकोटमा घले निर्वाचित
यता काँग्रेसको बारपाक सुलीकोट गाउँकार्य समितिको सभापतिमा जीतबहादुर घले विजयी भएका छन् । शनिबार सम्पन्न अधिवेशनमा मतदान प्रक्रियाबाट घले विजयी भएका हुन् । कूल १३० सदर रहेकोमध्ये घलेले ८९ मत प्राप्त गरेका थिए ।
उनका प्रतिद्वन्द्वी केशरी ढकालले ४१ मत प्राप्त गरेका थिए । त्यस्तै उपसभापतिहरुमा दलबहादुर तामाङ र सुकबहादुर गुरुङ निर्वाचित भएका छन् । सचिवमा नरहरि वाग्ले र धर्म भट्ट चयन भएका छन् । त्यहाँ पनि अन्य पदमा सर्व सहमती जुटेको नेपाली काग्रेस बारपाक सुलिकोटले जनाएको छ ।

पाँच स्थानीय तहमा सर्वसम्वत नेतृत्व
नेपाली कांग्रेस ५ वटा स्थानीय तहमा भने सहमतीमा नेतृत्व चयन गरेका छ । उत्तरी गोरखाको चुमनुब्री गाउँ कार्यसमितिको सभापतिमा सूर्य गुरुङ सर्वसम्मत चयन भएका छन् ।
उपाध्यक्षहरुमा वीरबहादुर लामा र कल्यान छेवाङ लामा सर्वसम्मत भएका छन् । सचिवमा सोनाम धार्के लामा र सोनाम लामा चयन भएका निर्वाचन समितिले जनाएको छ । यसैगरी धार्चे गाउँपालिका कार्यसमिति सभापतिमा सन्तोष गुरुङ सर्वसम्मत चुनिएका छन् ।
उपसभापतिमा दीपक गुरुङ र आशबहादुर घले र सचिवमा वुद्धिराज गुरुङ र सागर गुरुङ सर्वसम्मत चयन भएको नेपाली कांग्रेस धार्चेले जनाएको छ ।
आरुघाट गाउँपालिका सभापतिको जिम्मेवारी राजु गुरुङले पाएका छन् । उपसभापतिमा कृष्णप्रसाद श्रेष्ठ, यमबहादुर कार्की, सचिवमा विशाल गुरुङ र एकदत्त खनाल चयन भएको नवगठित समितिका सचिव गुरुङले बताए ।
शहिद लखन गाउँपालिकामा भने काशीनाथ अम्गाई सभापतिमा सर्बसम्मत चयन भएका छन् । ध्रुव पोखरेल र टेकबहादुर गुरुङले उपसभापती, चेतबहादुर थापा. र बासु रेग्मीले सर्वसम्मत सचिवको जिम्मेवारी पाएको निर्वाचन समितिले जनाएको छ ।
गण्डकी गाउँपालिकाको सभापतिमा गाउँपालिका अध्यक्ष होमबहादुर राना चयन भएका छन् । सचिवहरुमा कृष्ण सापकोटा र नवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
अजिरकोट गाउँ कार्यसमितिको जिम्मेवारी जंगबहादुर गुरुङले पाएका छन् । सचिवहरुमा चिरञ्जिवी धिताल र कृष्ण घले सर्वसम्मत चयन भएका छन् । उपसभापति, सहसचिव र कोषाध्यक्ष भने आइतबार चयन गर्ने गरी स्थगित गरिएको सभापति गुरुङले जानकारी दिए ।
सबै स्थानीय तहको अधिवेशन शान्तिपूर्ण रुपमा सकिएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार सबै पालिकाको विवरण संकलन गरी सार्वजानिक गर्ने तयारी छ । कांग्रेसको प्रदेश क्षेत्र अधिवेशन यही १२ गते, प्रतिनिधि सभा क्षेत्र अधिवेशन १५ गते र जिल्ला अधिवेशन १८ गते गर्न तयारी छ ।